आज शहीद दिवस : प्रजातन्त्रका लागि जीवन आहुति दिने ज्ञात-अज्ञात शहीदको सम्झना गरिँदै

१६ माघ, काठमाडौँ। प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि आफ्नो जीवन आहुति दिने ज्ञात-अज्ञात शहीदहरूको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी ‘शहीद दिवस’ मनाइँदैछ।

देश र जनताको हित तथा अधिकारका लागि लड्दा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाउने गरिन्छ।

गत माघ १० गतेदेखि विभिन्न कार्यक्रमका साथ मनाउन थालिएको ‘शहीद सप्ताह’ आज विशेष कार्यक्रमका साथ समापन हुँदैछ।

वि.सं. २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउने परम्परा सुरु भएको हो।

नेपालमा जहाँनिया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि चार वीर शहीदहरू- शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले खेलेको भूमिका र बलिदानको उच्च कदर गर्दै यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध जनतालाई सचेत गराएको र स्वतन्त्रताको माग गरेको अभियोगमा तत्कालीन सरकारले उनीहरूलाई मृत्युदण्ड दिएको थियो।

राणा शासकहरूले वि.सं. १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए।

तिनै शहीदहरूको बलिदानको जगमा नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्रको उदय भएको इतिहास छ। आजको दिन सरकार तथा विभिन्न सङ्घ-संस्थाहरूले प्रभातफेरी, माल्यार्पण र श्रद्धाञ्जलीसभा आयोजना गरी शहीदहरूको योगदानको चर्चा गर्ने गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours