पेट्रोलियम पद्धार्थको खपत बढ्यो, सरकारलाई पनि फाइदा

१४ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन कात्तिक)मा पेट्रोलियम पद्धार्थको खपत बढेको छ । मुख्यगरी डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासको खपत बढेको हो ।

पछिल्लो समय क्रमशः आर्थिक गतिविधि बढ्न थालेसँगै पेट्रोलियम पद्धार्थको खपत पनि बढ्न थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवमा डिजेल खपत सबैभन्दा धेरै ७.०८ प्रतिशतले बढेको छ ।

गत आवको ४ महिनामा कुल ३ लाख २४ हजार ४३१ डिजेल आयात भएकोमा चालु आवमा ३ लाख ४७ हजार ४१२ किलोलिटर आयात भएको छ । गत वर्षको सोही अवधिमा चालु आवमा २२ हजार ९८१ किलोलिटर धेरै डिजेल आयात भएको छ ।

त्यसैगरी, समीक्षा अवधिमा पेट्रोलको खपत ४.४ प्रतिशतले बढेको छ । गत वर्ष ४ महिनामा २ लाख ४७ हजार ४८१ किलोलिटर पेट्रोल आयात भएकोमा चालु आवमा बढेर २ लाख ५८ हजार ३६३ किलोलिटर पुगेको छ । चालु आवमा गत वर्षको सोही अवधिको तुलनामा १० हजार ८८२ किलोलिटर धेरै पेट्रोल आयात भएको हो ।

त्यसैगरी, चालु आवमा गत वर्षमा खाना पकाउने एलपी ग्यासको आयात पनि ५.५८ प्रतिशतले बढेको छ । गत वर्ष ४ महिनामा १७ करोड २४ लाख ८२ हजार किलो एलपी ग्यास आयात भएकोमा चालु वर्षको सोही अवधिमा १८ करोड २१ लाख १६ हजार किलो आयात भएको छ । समीक्षा अवधिमा आवको तुलनामा गत आवमा ९६ लाख ३३ हजार किलो धेरै ग्यास आयात भएको छ ।

चालु आवमा मट्टीतेल र हवाई इन्धन आयातमा भने गिरावट आएको छ । हवाई इन्धन आयात १.१७ प्रतिशत र मट्टीतेल ३३.४६ प्रतिशतले घटेको छ ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले इन्धनको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । निर्माण गतिविधि बढ्न थालेकाले सिमेन्ट, डण्डी लगायत उद्योग संचालन डिजेलको खपत बढेको हो । त्यस्तै, विकास आयोजनामा स्काभेटर, ट्रिपर लगायत उपकरण प्रयोग बढ्न थालेकाले डिजेलको खपत बढेको हो ।

त्यस्तै, पर्यटकीय क्षेत्र चलायमान हुँदा र आममानिसको गतिविधि बढ्दा पेट्रोलको पनि खपत बढेको हो । पछिल्लो समय पर्यटन व्यवसाय गुल्जार हुँदा खाना पकाउने ग्यासको खपत बढेको हो । पर्यटकीय गतिविधि बढ्दा होटल तथा रेष्टुरेन्टहरू पूर्ण क्षमतामा संचालन हुन थालेका छन् । पछिल्लो समय इन्डक्सन चुल्होको प्रयोग बढे पनि होटलमा ग्यासको प्रयोग बढ्दा खपत बढेको हो ।

सरकारलाई पनि फाइदा

चालु आवमा पेट्रोलियम पद्धार्थको खपत बढ्दा सरकारलाई पनि फाइदा भएको छ । आयात बढेकाले सरकारले पाउने राजस्व पनि बढेको हो ।

समीक्षा अवधिमा सरकारले पेट्रोलियम पद्धार्थ आयात बापत १ अर्ब ४३ करोड रुपैयाँ धेरै राजस्व पाएको छ । गत वर्ष कात्तिकसम्म पेट्रोलियम पद्धार्थ आयात बापत सरकारले ३१ अर्ब ५८ करोड रुपैयाँ राजस्व पाएको थियो भने चालु आवको सोही अवधिमा ३३ अर्ब ७२ करोड रुपैयाँ राजस्व पाएको छ ।

चालु आवमा डिजेल आयातबाट सबैभन्दा धेरै १३ अर्ब ९२ करोड, पेट्रोलबाट १४ अर्ब ६४ करोड, हवाई इन्धनबाट १ अर्ब र खाना पकाउने एलपी ग्यासबाट ३ अर्ब ३७ करोड राजस्व असुली गरेको छ ।

चालु आवको ४ महिनामा कुल ७८ अर्ब ९९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पद्धार्थ आयात भएको विभागको तथ्यांक छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours