कोलमतिघाट स्नानको धार्मिक महत्व!

२८ साउन, काठमाडौं । मिती २०८२ साल साउन २९ गते बिहिबार भाद्रकृष्णपक्ष पञ्चमी तिथी प्रात: ५ / ५३ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी आरम्भ भएको हुनाले यो दिन कागेश्वरी मनोहरा नगरपालिका वडा नं – ४ मा स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) वाग्मती नदीको तीर वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । “कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरेबराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ, कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो।कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ ।

कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ ।वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको छ।चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजा आराधना गरिन्छ ।नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ ।त्यो क्षेत्र हालको सुन्दरीजल हो

सुन्दरीजलको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो ।कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमतीघाटमा सत्ययुगमा भगवान् विष्णुसमेत आएर स्नान गर्नुभएको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।धार्मिक महत्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र लामो समयदेखि ओझेलमा परेको छ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours