पूर्ण लेखा परीक्षणमा बैंक छनोट गर्दा सम्पत्ति आकार हेरिने, १० बैंक कुन हुन् ?

२६ साउन, काठमाडौं। नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट पूर्ण लेखा परीक्षण गर्नका लागि बैंकहरू छनोट गरेको छ । केन्द्रीय बैंकले चैत २०८१ सम्मको तथ्यांकका आधारमा सम्पत्तिको आकार ठूलो भएका १० बैंक छनोट गरेको हो ।

केन्द्रीय बैंकले १० ठूला वाणिज्य बैंकको पूर्ण लेखा परीक्षणका लागि बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीलाई छनोट गरिसकेको छ । उक्त फर्मसँग केन्द्रीय बैंकले यसै साता सम्झैता पनि गर्दैछ ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा लिने क्रममा १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्छु भनेको थियो । सोही अनुसार केन्द्रीय बैंकले सम्पत्तिको आकार ठूलो भएका १० बैंकको लेखा परीक्षण गराउने प्रक्रिया सुरु गरेको छ ।

उक्त लेखा परीक्षणका लागि केन्द्रीय बैंकले करिब साढे ४ करोड रुपैयाँ हाउलादारलाई दिने निश्चित गरिसकेको छ । केन्द्रीय बैंकले यसअघि सुरु गरेको लेखा परीक्षक छनोट प्रक्रिया नै असफल भएको थियो । त्यसपछि केन्द्रीय बैंकले पुस २०८१ देखि दोस्रो पटक सुरु भएको प्रक्रियाले अन्तिममा पाउने निश्चित भएको हो ।

१० बैंकको पूर्ण लेखा परीक्षण गर्न छनोट भएको बंगलादेशी फर्मसँग यसै साता सम्झौता गर्ने तयारी भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रोशनकुमार सिग्देलले बताए ।

लेखा परीक्षण गर्ने बैंकहरूको छनोट केन्द्रीय बैंकले गरेको उनले बताए । ‘चैत २०८१ को तथ्यांकका आधारमा शीर्ष १० बैंकको लोन पोर्टफोलियो रिभ्यु हुनेछ,’ उनले भने ।

हाउलादरलाई लेखा परीक्षण सम्पन्न गर्न ३ महिना म्याद दिइएको छ । केन्द्रीय बैंकको सम्पत्ति व्यवस्थापन विभागले हाउलादरसँगको सम्झौता सकेपछि सुपरीवेक्षण विभागको जिम्मा लगाउने छ । सुपरीवेक्षण विभागसँगको सहकार्यमा लेखा परीक्षण्को काम हुने उनको भनाइ छ ।

बैंकहरूको छनोट गर्दा सम्पत्तिको आकारलाई मुख्य आधार बनाइने केन्द्रीय बैंकका अर्का एक अधिकारीले बताए । ‘सम्पत्तिको आकार अनुसार कर्जा तथा निक्षेप पनि ठूलै हुन्छ,’ ती अधिकारीले भने, ‘धेरै सम्पत्ति भएका शीर्ष १० बैंकहरूको पूर्ण लेखा परीक्षण हुन्छ ।’

हाउलादारले सम्झौतापछिका दुई महिना अफसाइट नै बसेर छलफल गर्ने योजनामा रहेको समेत ती अधिकारीले जनाकारी दिए । दुई महिना अवधिमा गैरस्थलगत अनुगमन गरे पनि चाडबाडका बेला पनि सकिने र स्थलगत लेखा परीक्षण सुरु हुनेछ ।

केन्द्रीय बैंकले तोकेको समयमा तथ्यांकका आधारमा पूर्ण लेखा परीक्षण हुने पहिलो बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । गत आर्थिक वर्ष चैतसम्म सबैभन्दा धेरै सम्पत्ति हुने बैंकमा ग्लोबल आईएमई देखिएको छ । उक्त अवधिमा बैंकको सम्पत्ति ६ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ बराबर छ । त्यस्तै ग्लोबल आईएमईको कर्जा ४ खर्ब ३८ अर्ब ८३ करोड बराबर छ भने निक्षेप ५ खर्ब ३७ अर्ब ६९ करोड छ ।

त्यसैगरी क्रमशः नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक र हिमालयन बैंक छन् । यी बैंकको पूर्ण लेखा परीक्षण आगामी केही महिनामा हाउलादारले सम्पन्न गर्ने छ ।

सबै बैंकको लेखा परीक्षणको काम एकै पटक हुने ती अधिकारीको भनाइ छ । त्यसका लागि २२ जना जनशक्ति आवश्यक पर्छ । त्यसका साथै केन्द्रीय बैंकका २ जना कर्मचारी पनि थप समावेश हुनेछन् । हरेक बैंकमा फर्मका २ जना र केन्द्रीय बैंकका २ गरी ४ जनाले काम गर्नेछन् ।

अन्तर्राष्ट्रिय स्तरको बैंकिङ कारोबार गर्ने संस्थाका सन्दर्भमा भन्दा सम्पत्तिको गुणस्तर कमजोर भएका र प्रुडेन्ट बैंकिङ अभ्यास अनुशरण नगरेका बैंकलाई प्राथमिकतामा राखिने केन्द्रीय बैंकले जनाएको छ ।

आईएमएफले नेपाली बैंकिङ क्षेत्रको खराब कर्जाको अंश विश्वास गरिरहेको थिएन । बैंकिङ क्षेत्रले कर्जाको इभर ग्रिनिङ गरेको आरोप लगाउँदै आएको थियो । त्यसका लागि समेत आईएमएफले केन्द्रीय बैंकलाई चालु पूँजी कर्जा मागर्दर्शन लागु गर्न दबाब दिएको थियो ।

सोही अनुसार केन्द्रीय बैंकले लागु गरेर कार्यान्वयन पनि गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा तिर्न कर्जा दिने अभ्यास गरेको हुनाले अन्तर्राष्ट्रिय वित्तीय संस्थाले समग्र वित्तीय प्रणालीमाथि नै शंका गर्दै आएका थिए ।

यो लेखा परीक्षण पनि अन्तर्राष्ट्रिय संस्थाहरूको वित्तीय प्रणालीप्रतिको बुझाइमा समेत स्पष्टता आउने केन्द्रीय बैंकका अधिकारीको अपेक्षा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours