गभर्नर पौडेल ‘बीआईएस’ वार्षिक बैठकमा सहभागी

१६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्यान्डको बासेलमा आयोजित ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स’ (बीआईएस) को ९५औं वार्षिक बैठकमा सहभागी भएका छन् ।

सोही क्रममा आयोजित विभिन्न अन्तक्र्रियामा गभर्नर पौडेल सहभागी भए । ती अन्तक्र्रियामा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका उपलब्धि र सामना गर्नुपरेका चुनौती तथा केन्द्रीय बैंकमा ‘एआई’ प्रयोग र यसले बैंकिङ प्रणालीमा ल्याउन सक्ने चुनौती तथा यसलाई सम्बोधन गर्न केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था सम्बन्धमा छलफल भएको थियो ।

वार्षिक बैठकमा गभर्नर पौडेलले बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्स, बीआईएसका बैंकिङ विभाग प्रमुख लुइस बेंगोचा लगायतसँग भेट गरेका थिए ।

भेटमा विदेशी विनियम सञ्चिति लगानी विविधीकरणका लागि सुन खरिद तथा विश्व बजारमा उपलब्ध नयाँ उपकरणमा लगानी गरी विदेशी विनिमय सञ्चितिबाट प्राप्त हुने प्रतिफल बढाउन नेपाल राष्ट्र बैंकसँग हुन सक्ने सहकार्य लगायत विषयमा छलफल भएको थियो ।

त्यसैगरी गभर्नर पौडेल र भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राबीच भेटवार्ता भएको थियो । भेटवार्तामा दुई केन्द्रीय बैंकबीच आपसी सम्बन्ध थप विस्तार गर्ने र आगामी दिनमा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने, भुक्तानी प्रणाली सहज बनाउने र जनशक्ति क्षमता विकास गर्ने लगायत बारे छलफल भएको थियो ।

यसैगरी गभर्नर पौडेल र पिपल्स बैंक अफ चाइनाका गभर्नर पान गोङसेङबीच भेट भएको थियो । भेटमा द्विपक्षीय सहयोग, बैंकिङ कारोबार तथा भुक्तानी प्रणाली सहज र प्रभावकारी बनाउन निरन्तर सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours