अमेरिकी आक्रमणको कसरी प्रतिवाद गर्ला इरान ?

०९ असार, काठमाडौं । इजरायल र इरानबीच युद्ध सुरु भएको दुई हप्ता बितेको छ । यहीबीच अमेरिकाले इरानका प्रमुख परमाणु कार्यक्रम स्थलमा आक्रमण गरेर चर्किएको युद्धलाई अस्थिर बनाइदिएको विश्लेषण भइरहेको छ ।

आणविक कार्यक्रमको मुख्य अड्डा र सुरक्षित मानिएको इरानको फोर्दो स्टेसनलाई समेत अमेरिकाले निसाना बनाएपछि युद्ध अस्थिर भएको विश्लेषण गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत फोर्दो परमाणु केन्द्रमा शक्तिशाली र वजनदार १३ हजार ६०० किलोग्रामको मेसिव आर्डनेन्स पेनिट्रेटर बम खसाल्न अनुमति दिएका थिए । साथै इरानका थप परमाणु केन्द्र नतान्ज र इस्फहानमा पनि सोही किसिमको बम खसालेर क्षति पुर्याइएको छ ।

राष्ट्रपति ट्रम्पले इरानका यी तीन परमाणु केन्द्र पूर्णरुपमा नष्ट भएको घोषणा गरेका छन् र इरानले जवाफी आक्रमण गरेमा अझै शक्तिशाली हमला गरिने चेतावनी दिएका छन् ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले यसअघि अमेरिकालाई इजरायलसँगको युद्धमा सामेल भए अपूरणीय क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका थिए । साथै इराले सबै किसिमको विकल्पमा विचार गरिरहेको बताएका थिए ।

इरानले अमेरिकाको कुनै पनि आक्रमण उसको हितलाई खतरामा पार्न सक्ने चेतावनी दिएको थियो । आणविक केन्द्रमा भएको आक्रमणपछि इरानको इभुल्स्नरी गार्ड्सले पछिल्लो कदमप्रति अमेरिकाले पछुताउने प्रतिक्रिया दिएको छ । गार्ड्सले सजिलैसँग आक्रमण गर्न सकिने अमेरिका सम्बन्धित केन्द्रहरुको सूची समेत जारी गरेको छ ।

इराक, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, जोर्डन, सिरियामा अमेरिकाको सैन्य अड्डा छन् । यी सबै क्षेत्रमा इरानले ब्यालेस्टिक मिसाइल प्रहार गर्न सक्छ । कतारमा रहेको विशाल अल–उदैद एयर बेश र बहराइनमा रहेको नौसैनिक अड्डामा अमेरिकाको पाँचौ सैनिक दल तैनाथ छन् ।

इरानले शिर्ष कमान्डर कासिम सुलेमानीको हत्याको बदला लिन यसअघि इराकमा रहेको अमेरिकी सैन्य अड्डा अल असद एयरबेसमा आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा मानवीय क्षति नभएपनि सैन्य अड्डामा ठूलो क्षति भएको थियो । सुलेमानी हत्याको आदेशपछि ट्रम्पले नै दिएका थिए । इरानले पछिल्लो अमेरिकी आक्रमणको पनि त्यस्तै किसिमले प्रतिवाद गर्न सक्ने अनुमान गरिएको छ ।

बढ्दो तनावका कारण इरानसँग गुमाउन केही बाँकी नरहने स्थितिमा उसले दूतावासदेखि अमेरिकी गैर सैन्य ठाउँमा पनि आक्रमण गर्न सक्ने खतरा छ ।

इरानका राजनेता र सैन्य अधिकारीले होर्मुज स्ट्रेट बन्द गर्ने धम्की दिँदै आएका छन् । पश्चिमी देशसँग तनाव बढेका बेला इरानले यही कुरा दोहोर्‍याउने गरेको छ ।

फारसको खाडीदेखि ओमानको खाडीसम्म पर्ने होर्मुज स्ट्रेट साँघुरो समून्द्री मार्ग हो । ३४ किलोमिटर साँघुरो समून्द्री क्षेत्र र जम्मा ३ किलोमिटर लामो जहाज चल्ने मार्ग भएकाले यहाँको पूरै क्षेत्रमा इरानको नियन्त्रण छ ।

मध्यपूर्वका देशबाट विश्वभर ढुवानी हुने कूल तेलको पाँचौ हिस्सा अर्थात् अर्थात् हरेक पाँच लिटर मध्ये एक लिटर तेल यसै क्षेत्र ढुवानी हुन्छ ।

हरेक महिना यो समून्द्री मार्ग हुँदै ३ हजार भन्दा बढी तेल र ग्यासका जहाज जान्छन् । इरानको संसदले होर्मुज स्ट्रेट बन्द गर्नुपर्ने निर्णय गरेको छ । तर, यसको अन्तिम निर्णयको अधिकार सर्वोच्च नेता खामेनीलाई दिइएको छ । होर्मुज स्ट्रेट बन्द भए विश्वभरकै तेल बजार र अर्थव्यवस्थामा असर पर्ने विज्ञहरु बताउँछन् ।

विशेषज्ञहरुका अनुसार होर्मुज स्ट्रेट बन्द हुँदा अन्तर्राष्ट्रिय तेल आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा प्रभावित हुनसक्छ । होर्मुजलाई बारुदी सुरुङ, क्रुज मिसाइल र तटीय सुरक्षाका साथ आक्रमणयुक्त डुंगा प्रयोग गरेर इरानले ठप्प पार्न सक्छ । इरानको रिभुल्स्नरी गार्ड्सले हालैका वर्षमा होर्मुजलाई लिएर आक्रमणको पूर्व तयारी गरेको बताइन्छ ।

तर, होर्मुज स्ट्रेट बन्द गर्दा इरान स्वयंलाई पनि घाटा हुने बताइन्छ । चीन, इरानको सबभन्दा ठूलो तेल ब्यापारको साझेदार हो । होर्मुज बन्द हुँदा इरानकै लागि पनि व्यापारिक समीकरण जटिल हुनसक्छ ।

इरानले लाल सागर र फारसको खाडीमा पहिले पनि ड्रोन, मिसाइल र बारुदी सुरुङबाट जहाजहरुमाथि आक्रमण गरेको थियो ।

पछिल्लो अमेरिकी आक्रमणपछि इरानले साउदी अरब, यूएई जस्ता नजिक देशहरुमा टयाकंर, बन्दरगाह, तेल प्रशोधन केन्द्रहरुमा शक्तिशाली आक्रमण गर्न सक्ने आकलन गरिएको छ ।

जसले विश्वकै तेल बजारलाई प्रभावित पार्न सक्छ । ट्रम्पको आदेशपछि इरानका नेताहरुले साउदी अरबको उर्जा संयन्त्रलाई निसाना बनाउने समेत बयान दिएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours