योजना आयोग उपाध्यक्ष र बेलायती राजदूतबीच भेट, सहकार्य बढाउन छलफल

०९ असार, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग, योजना कार्यान्वयन र अनुसन्धान क्षेत्रमा छलफल भएको आयोगले जनाएको छ ।

भेटमा उपाध्यक्ष अधिकारीले चालु १६औं योजना पहिलेभन्दा फरक (विषयगत दृष्टिकोण) मा तयार गरिएको बताउँदै यसको कार्यान्वयन योजना बनाइँदै गरेको जानकारी दिए ।

उनले योजना आयोगले मन्त्रालयहरूसँग छलफल गरी समन्वयात्मक (अतिरिक्त लाभ र विरोधाभास) अपनाएर कार्य योजना तयारी अगाडि बढाइएको जानकारी गराए ।

राजदूत फेनले बेलायतमा पनि नीति निर्माण र कार्यान्वयन (समस्या समाधान साझेदारी) बाट गरिएको बताउँदै आयोगले बनाएको कार्य योजनाको प्रशंसा गरे ।

राजदूत फेनले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न आग्रह गर्नुका साथै जलवायु परिवर्तनले नेपाललाई पारेको असर न्यूनीकरण गर्ने लगायत विभिन्न वातावरणीय क्षेत्रमा मिलेर काम गर्ने बताए ।

उनले बेलायतले शैक्षिक, अनुसन्धान र आर्थिक क्षेत्रमा नेपालसँग दीर्घकालीन साझेदारी बढाउन चाहेको र विशेषगरी स्तरोन्नति भएपछि नेपालले सामना गर्न सक्ने व्यापारिक चुनौती समाधान गर्न बेलायतले सहयोग दिने बताए ।

बेलायतका सरकारी संस्थानहरू र प्रतिष्ठित विश्वविद्यालयहरूसँग नेपालको द्विपक्षीय अनुसन्धान सहयोग बढाउने र अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिपछि नेपालको व्यापारमा पर्ने प्रभाव विषयमा छलफल भएको थियो ।

दुवै पक्षले नेपाल र बेलायतबीच अनुसन्धान, योजना कार्यान्वयन र नीति समन्वय क्षेत्रमा सहकार्य बढाउने सहमति जनाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours