नेपाललाई ‘विश्व शान्ति पर्यटन’ को केन्द्र बनाऔं : पर्यटनमन्त्री

०९ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्न सकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरे ।

‘बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ,’ मन्त्री पाण्डेले भने ।

मन्त्री पाण्डेले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति शहर’ का रूपमा विकास गर्ने समेत बताए ।

‘बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ । लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको छ,’ उनले भने ।

मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवर्द्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको समेत दाबी गरे ।

मन्त्री पाण्डेले थपे, ‘युनेस्को प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरेका छौं । साथै तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको छ ।’

मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours