प्रहरीलाई आईजीपीको निर्देशन – आफूलाई रोल मोडलका रुपमा प्रस्तुत गर्नुस्

०४ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापाले मातहतका प्रहरी कर्मचारीलाई सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ संयमित भएर प्रस्तुत हुन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरी क्लब, भृकुटीभण्डपमा मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘अनुशासित भएर आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्दै सामूहिक भावनामा काम गर्नुस् ।’

विभिन्न स्थानमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई दुर्व्यहवार गरेको, प्रहरीबाट प्रहरी कर्मचारी नै दुर्व्यवहारमा परेको जस्ता घटनाहरु सार्वजनिक भइरहेका बेला महानिरीक्षक थापाले प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न निर्देशन दिएका हुन् ।

उनले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्न समेत निर्देशन दिए ।

‘कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्था गर्न बल प्रयोगको सिद्धान्त अनुरूप थप संवेदनशील भई कार्य गर्नुपर्छ ।’

राजवादी समूहले १५ जेठदेखि प्रदर्शन अघि बढाउने तयारी गरिरहेका बेला प्रहरी प्रमुख थापाले सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी उचित रणनीति तयार गर्न निर्देशन दिएका हुन् ।

मजबुत सुरक्षा व्यवस्थापनको लागि प्रभावकारी प्रहरी परिचालन हुनुपर्ने भन्दै उनले चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिन निर्देशन गरे ।

उनले भने, ‘प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुस्, हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुस् ।’

महानिरीक्षकको निर्देशन सम्बोधनका क्रममा काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङसहित उपत्यकाका उच्च अधिकृतहरु सहभागी थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours