२२ वैशाख, काठमाडौँ । नेपाली अनुसन्धानकर्ताहरूले नेपालमा फाइभजी नेटवर्क भित्र्याउन सकिनेबारे अनुसन्धान गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोक क्याम्पसका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको टोलीले फोरजी नेटवर्कलाई फाइभजीमा रूपान्तरण गर्ने योजनालाई सघाउनेगरी खोजमूलक अध्ययन गरेको हो ।
“Game Theoretic Approach to QoS Oriented Machine Learning Model Development Toward 5G Network Migration Planning” शीर्षकमा गरिएको उक्त अनुसन्धानमा बीई चौथो वर्षमा अध्ययनरत अर्जुन राय र मनिष कुमार यादव, सुपरभाइजर उप-प्राध्यापक डा. बाबुराम दवाडी र फिनल्याण्डको हेल्सिन्की विश्वविद्यालयका अनुसन्धानकर्ता डा. कृष्णराज भण्डारी संलग्न छन् । उनीहरूको अनुसन्धान पत्र अमेरिकी प्रतिष्ठित जर्नल आइट्रिपलई एक्सेस (ieeexplore.ieee.org) प्रकाशित भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा गरिएको यो अनुसन्धानले फाइभजी कार्यान्वयनमा आउनसक्ने उच्च लागत र अन्य चुनौतीहरूको समाधान दिने लक्ष्य राखेको डा. दवाडीले बताए । उनका अनुसार अनुसन्धानले काठमाडौँ उपत्यकाका पुराना फोरजी टावरहरूको अध्ययन गरी दूरसञ्चार सेवा प्रदायकहरू (नेपाल टेलिकम/एनसेल)लाई न्यूनतम मूल्यमा अनुकूल तरिकाले आगामी पाँच वर्षभित्र फाइभजी प्रविधि कसरी अपनाउने भन्ने उपाय प्रस्तुत गरेको छ ।
“विश्वविद्यालय अनुदान आयोगबाट विगत तीन वर्षदेखि नै अनुदान प्राप्त भएको थियो । त्यस अनुसन्धान रकमबाट ६/७ वटा अनुसन्धान गरिसकेका छौँ । अझै केही अनुसन्धान पत्र प्रकाशित हुन बाँकी छन्,” उनले भने ।
अनुसन्धानले मसिन इन्टेलिजेन्स र इभोलुसनरी गेम थ्योरी गरी दुई चरणका विधिहरू सुझाएको छ । मसिन इन्टेलिजेन्सले फोरजी र फाइभजी नेटवर्कको गुणस्तर र समस्याहरूको विश्लेषण गरी कुन बेस स्टेसनलाई पहिलो प्राथमिकता दिने भन्ने निर्णय लिन मद्दत गर्नेछ । इभोलुसनरी गेम थ्योरीले भने दूरसञ्चार सेवा प्रदायकहरूलाई राजस्व, ग्राहक सङ्ख्या र फाइभजी सेवाको माग जस्ता व्यावहारिक पक्षहरूलाई विचार गरी दीर्घकालीन योजना बनाउन सहयोग गर्नेछ।
डा. दवाडीले हालको फोरजी नेटवर्कले बढ्दो मोबाइल र डेटा प्रयोगकर्ताको माग धान्न नसक्ने भएकाले फाइभजी आवश्यक भएको बताए । तर, फाइभजी नेटवर्कमा जान महँगो खर्च, प्रविधिगत पूर्वाधारको कमी, मानव संसाधनको कमी र सेवाको गुणस्तरमा अवरोध आउन सक्ने चुनौती रहेका छन् । यही समस्यालाई समाधान गर्न उक्त अनुसन्धान केन्द्रित रहेको उनले बताए ।
“संसार नै टेलिकमको नेटवर्क फोरजीबाट फाइभजीमा रूपान्तरण भइरहेको छ । यसरी रूपान्तरण हुने क्रममा महँगो खर्च हुन्छ । उक्त खर्च कसरी सही तरिकाले कम गर्ने भनेर अनुसन्धान गरेका हौँ,” उनले भने । नेपाल सरकारले फाइभजीको पाइलट टेस्ट गर्ने भनेर नेपाली टेलिकमलाई जिम्मा दिएपनि हालसम्म फाइभजी कार्यान्वयन नभएकोमा उनले चिन्ता व्यक्त गरे ।


+ There are no comments
Add yours