Advertisement

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

0 786

Advertisement

२८ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाएका छन्। सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई बैठकमा बोलाइएको हो।

उनका अनुसार सभामुखले शुक्रबार दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा समसामयिक विषयमा छलफल आयोजना गर्न लागेका हुन्।

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्। अहिले प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा, नेमकिपा र राप्रपाको उपस्थिति छ।

संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले यसलाई असंवैधानिक भनेका छन्।

गत जेठ १३ गते उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए। छलफलमा सापकोटाले जनतालाई केन्द्रबिन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका थिए। उनले भनेका थिए, ‘अरुले के सोच्छन्, त्यो अरुको कुरा हो। मैले संविधान र प्रतिनिधिसभाको नियमावली अनुसार नै मैले चल्नुपर्छ। फेरि आवश्यक पर्दा नेपाली जनताले ३३४ जनालाई सर्वभौम अधिकार सुम्पिएका छन्। अहिले संघीय संसदको नेतृत्वको हैसियतले प्रतिनिधिसभाको सभामुखको हैसियतमा त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ।’

अरुले के सोच्छन् भन्नेकुरा आफूलाई थाहा नभएको भन्दै उनले आवश्यक पर्दा नेपाली जनताले आफूलाई सुम्पिएको सार्वभौम अधिकार अभिव्यक्ति हुनुपर्ने उनको भनाइ छ। ‘आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ। त्यो भनेको धेरै असाधारण र त्यो गर्नलाई घण्टाघण्टाका सबै कुरालाई विचार गरेर मनन गरेर अगाडि बढ्नुपर्छ’, सभामुख सापकोटाले भने, ‘हामी एउटा शब्दावली मन पराउँछौँ। ठोस स्थितिको ठोस विश्लेषण गर्नुपर्छ। आवश्यक पर्यो भने केन्द्रबिन्दुमा देश र जनता नै हुन्छ। देश र जनताको हितभन्दा बाहिर जाने अधिकार त कसैलाई हुँदै हुँदैन। देश र जनताको अधिकतम हित गर्नुपर्दा कहिलेकाँही संविधानको मर्म र भावनालाई आत्मसाथ गर्नेगरी काम गर्न तयार छु।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.