खुम्चियो आन्तरिक कर्जा

२७ फागुन, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल आन्तरिक कर्जा खुम्चिएको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ३.२ प्रतिशतले बढेकामा समीक्षा अवधिमा १.३ प्रतिशत मात्रले बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको चालु आव २०८१/८२ को सात महिनाको तथ्याङ्क अनुसार वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २०.३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.२ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा यस्तो दाबी १०.१ प्रतिशतले घटेको भने मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.० प्रतिशतले बढेको छ ।

निक्षेप करिब चार प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप दुई खर्ब ४५ अर्ब ३४ करोड अर्थात् ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन खर्ब ९७ अर्ब २० करोड अर्थात् सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ ।

२०८१ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, ३४.८ प्रतिशत र ५२.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.२ प्रतिशत, २७.४ प्रतिशत र ५९.८ प्रतिशत थियो ।

गत माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघ मसान्तमा यस्तो निक्षेपको अंश ३६.४ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह ५.६ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई खर्ब ८३ अर्ब ४६ करोड अर्थात् ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ९७ अर्ब २१ करोड अर्थात ४.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा गत माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ ।

गत माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह ५.९ प्रतिशतले, विकास बैङ्कको ३.१ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ ।

आव २०८१/८२ को सात महिनामा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३.६ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २७.८ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ६९.५ प्रतिशतले, हायर पर्चेज कर्जा ४.५ प्रतिशतले, नगद प्रवाह कर्जा ३.७ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२.४ प्रतिशतले घटेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours