०२ असाेज, फुङलिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१, कालीखोलाको पाङ्दुवामा रहेको टार्जन खुदाङ लिम्बूको चौँरीगोठमा यतिबेला चौँरीको दुधभन्दा बढी छुर्पीको चर्चा हुन्छ । गोठमा उत्पादित दुधलाई प्रशोधन गरेर बनाइएको छुर्पी बिक्रीबाट उहाँले वार्षिक करिब १३ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।
३० वर्षीय लिम्बूका लागि चौँरीपालन परम्परागत पेसा मात्र होइन बरु परिवारको जीविकोपार्जनको मुख्य आधार हो । नौ वर्षदेखि व्यावसायिक रूपमा चौँरीपालन गर्दै आउनुभएका उहाँसँग अहिले ३० वटा चौँरी छन् । वर्षको करिब छ महिना पाङदुवाको गोठमा र बाँकी छ महिना सिदिङ्वा गाउँपालिका–१, सुरुमखिममा बिताउनुहुन्छ ।
जेठदेखि भदौसम्मको समय उहाँका लागि बढी व्यस्त हुन्छ । यही समयमा पाङदुवाको गोठमा चौँरीको दुध दुहुने, दुध प्रशोधन गर्ने र छुर्पी तयार गर्ने काम चल्छ । गोठ वरिपरि बाँस तथा काठका डन्डीमा झुन्ड्याइएका पहेँलै छुर्पीका लहरले उत्पादनको आकार देखाउँछन् ।
चौँरीको दुधबाट तयार हुने छुर्पी उहाँको मुख्य आम्दानीको स्रोत हो । उत्पादित छुर्पी प्रतिकेजी एक हजार एक सय रुपियाँसम्ममा बिक्री हुने गरेको लिम्बूले बताउनुभयो । पाङ्दुवामा उत्पादन भएको छुर्पी ताप्लेजुङका स्थानीय बजारसँगै सिक्किम, इलाम र बिर्तामोडसम्म पुग्ने गरेको छ । “चौँरीपालनबाट सन्तुष्ट छु, यही व्यवसायले परिवारको खर्च धान्न सहयोग गरेको छ,” उहाँले भन्नुभयो । बजारको अवस्था सधैँ सहज भने छैन । चीनतर्फको नाका बन्द भएपछि छुर्पीको बजार व्यवस्थापनमा केही समस्या आएको उहाँ बताउनुहुन्छ ।

सुरुमखिम निवासी लिम्बू बाल्यकालदेखि नै चौँरीको गोठमा हुर्किनुभयो । बुवाले गर्दै आएको चौँरीपालनको जिम्मेवारी समाल्दै उहाँले यसलाई व्यावसायिक रूप दिनुभएको हो । “सानैदेखि चौँरीको गोठमा हुर्किएँ । बुवापछि यही पेसा समाल्दै आएको हुँ,” उहाँले भन्नुभयो ।
पाङ्दुवा क्षेत्रमा कालीखोला, सुरुमखिम र मेहेलेलगायतका स्थानका गरी १६ वटा चौँरीका गोठ छन् । यहाँका किसानले चौँरीको दुधबाट घिउ र छुर्पीलगायतका दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएका छन् । हिमाली क्षेत्रमा पुस्तौँदेखि चलिआएको चौँरीपालन स्थानीय अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण पेसा भए पनि पछिल्लो समय यसमा संलग्न किसानको सङ्ख्या घट्दै गएको लिम्बू बताउनुहुन्छ ।
नयाँ पुस्ता चौँरीपालनमा आकर्षित नहुँदा परम्परागत पेसा सङ्कटमा पर्न थालेको उहाँको अनुभव छ । उहाँका एक छोरा र एक छोरी छन् । दुवै जना बिर्तामोडमा अध्ययनरत छन् । छोराछोरीले भविष्यमा चौँरीपालनलाई निरन्तरता दिन्छन् वा दिँदैनन् भन्ने निश्चित नभए पनि आफूले भने पेसालाई निरन्तरता दिने उहाँ बताउनुहुन्छ ।
चौँरीपालनमा आम्दानीसँगै जोखिम पनि उत्तिकै छ । पाङ्दुवाका चौँरी किसानका लागि वन कुकुर ठुलो चुनौती बनेको लिम्बूको भनाइ छ । गोठाला मिलेर वन कुकुर लखेट्ने गरे पनि वर्षमा २० देखि २५ वटासम्म चौँरी कुकुरले मार्ने गरेको उहाँ बताउनुहुन्छ । चौँरीका लागि आवश्यक आहार र चरन व्यवस्थापनमा पनि समस्या हुने गरेको छ । लामो समय गोठमा बसेर चौँरी चराउनुपर्ने भएकाले जनशक्ति व्यवस्थापनसमेत चुनौतीपूर्ण हुने गरेको उहाँको अनुभव छ ।
सरकारले यसअघि छुर्पी उत्पादनका लागि आवश्यक फर्निचर उपलब्ध गराएको भए पनि पछिल्लो तीन वर्षयता त्यस्तो सहयोग प्राप्त नभएको उहाँले बताउनुभयो । उत्पादन बढाउन आधुनिक प्रविधि, बजारको सुनिश्चितता र सरकारी सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
पछिल्लो तीन वर्षयता पाङ्दुवा क्षेत्रमा पर्यटकको आवागमनसमेत बढेको छ । ताप्लेजुङका विभिन्न स्थानसँगै दमक, इटहरी, धरान र पाँचथरबाट आउने पर्यटक चौँरीका गोठ हुँदै तिम्बुङपोखरीतर्फ जाने गरेका छन् । चौँरीगोठ हुँदै तिम्बुङपोखरी जाने पर्यटकका लागि यहाँको गोठ र छुर्पी उत्पादन आफैँमा आकर्षण बन्न थालेको छ ।


+ There are no comments
Add yours