१८ भदाै, काठमाडौँ । रसुवाको भोटेकोशी कोरिडोर (टिमुरे, स्याँफ्रुबेँसी) तथा नुवाकोटको त्रिशूली कोरिडोर क्षेत्रमा गएको विनाशकारी बाढीका कारण यतिबेला सयौँ परिवार शोकमा डुबेका छन् । बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीमा परी ज्यान गुमाएका कैयौँ नागरिकको पहिचान हुन नसक्दा परिवारजन थप पीडामा परेका छन् । शव गलेको, अनुहार चिन्न नसकिने अवस्था रहेको र कतिपयको शरीरका केही अंग मात्र फेला परेकाले मृतकको पहिचानमा कठिनाइ उत्पन्न भएको छ । यस्तो हृदयविदारक अवस्थामा कतिपय परिवारले आफ्ना बेपत्ता आफन्त जीवितै भेटिने त परै जाओस्, लाससमेत नभेटिने भन्दै आशा मारेका छन् । उनीहरूले हिन्दू परम्पराअनुसार काँस र कुशबाट शवको प्रतिमा बनाएर आफ्ना प्रियजनको अन्तिम संस्कार गर्न थालेका छन् । बुधबार पशुपति आर्यघाटमा दर्जनौँ यस्ता काँस र कुशका शवहरूको सामूहिक अन्त्येष्टि गरिएको थियो । बेपत्ताका परिवारजनले आफन्तलाई सम्झिएर भक्कानिँदा आर्यघाटको दृश्य अत्यन्तै कारुणिक बनेको थियो ।
शव पहिचानका लागि डिएनए परीक्षण
शव पहिचान हुन नसकेपछि सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (खुमलटार) र नेपाल प्रहरीको समन्वयमा डिएनए परीक्षण सुरु गरेको छ । प्रयोगशालाले बाढीमा बेपत्ता भएका व्यक्तिको बाबु, आमा, छोरा वा छोरीलाई सम्भावित डिएनए दाताको सूचीमा राखेर रगतको नमुना संकलन गरिरहेको छ । आफन्तहरूले डिएनए परीक्षणका लागि दुईवटा पासपोर्ट साइजको फोटोसहित रगतको ताजा नमुना दिनुपर्ने छ । काठमाडौं उपत्यकामा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र खुमलटार प्रयोगशालामा नमुना संकलन भइरहेको छ । उपत्यका बाहिरका नागरिकले काठमाडौं वा रसुवा धाइरहनु पर्दैन । उनीहरूले नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर स्थानीय स्वास्थ्य संस्थामार्फत रगतको नमुना दिनसक्ने व्यवस्था मिलाइएको छ । विदेशमा रहेका आफन्तले भने त्यहीँको आधिकारिक फरेन्सिक प्रयोगशालाबाट परीक्षण गराई डिएनए प्रोफाइलको विद्युतीय प्रतिलिपि सिधै नेपाल प्रहरीलाई पठाउन सक्नेछन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार चिन्न सकिने सग्ला शवहरूलाई काठमाडौं लगायतका अस्पतालका शवगृहमा सुरक्षित राखिएको छ । तर, अत्यधिक कुहिएका शवहरूले महामारी र प्रदूषणको जोखिम बढाउने भएकाले तिनलाई सुरक्षित रूपमा जमिनमुनि गाडिएको छ । यसरी गाड्नुअघि फरेन्सिक टोलीले ती शवबाट औँलाको छाप, दाँतको नमुना र डिएनएका लागि आवश्यक जैविक नमुनाहरू संकलन गरेको छ । नमुना लिएपछि शवलाई सुरक्षित ‘डेड बडी ब्याग’ मा सिल गरेर प्रहरीको निगरानीमा व्यवस्थापन गरिएको हो । पछि डिएनए रिपोर्ट मिलेपछि ती शव उत्खनन गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ ।
विदेशी विज्ञहरूको भर
ठूलो संख्यामा रहेका शवहरूको वैज्ञानिक परीक्षण गर्न नेपालको जनशक्ति अपुग भएको छ । देशभर फरेन्सिक (विधि विज्ञान) चिकित्सा विधाका करिब ४० जना मात्र विशेषज्ञ डाक्टर दर्ता छन् । तीमध्ये पनि तत्काल फिल्डमा खटिन सक्ने जनशक्ति २५ जनाको हाराहारीमा मात्र छ । यसकारण सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको थियो । अहिले भारतबाट १३ जना, सिंगापुरबाट २४ जना र चीनबाट आठजना विशेषज्ञ नेपाल आएर काम गरिरहेका छन् । अन्य देशबाट पनि टोली आउने क्रम जारी छ । विदेशी विज्ञहरूले जटिल खालको डिएनए परीक्षण गर्न आधुनिक मेसिन र परीक्षण सामग्रीसहित प्राविधिक सहयोग गरिरहेका छन् ।
नेपालमा पुरानो प्रविधिबाट डिएनए परीक्षण गर्दा नतिजा आउन तीन महिनाभन्दा बढी समय लाग्ने गर्थ्यो । तर, विदेशी टोलीले ल्याएको आधुनिक उपकरणका कारण यो प्रक्रिया छिटो हुने अपेक्षा गरिएको छ । यद्यपि, शवको संख्या अत्यधिक भएकाले सबैको डिएनए मिलेर नतिजा आउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन् । नेपालमा फरेन्सिक डाक्टरहरूको दरबन्दी कम हुनु, अध्ययनका लागि कोटा सीमित हुनु र पोस्टमार्टम कक्षमा आधुनिक उपकरणको अभाव हुनाले यस क्षेत्रमा नयाँ डाक्टरहरूको आकर्षण कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यिनै सीमितताका बीच अहिले स्वदेशी र विदेशी विज्ञहरूको टोलीले रातदिन नभनी बेपत्ता नागरिकको पहिचान खुलाउन निरन्तर काम गरिरहेका छन् ।
साढे सात हजार घर ध्वस्त, हजारौँ विस्थापित
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी कुल एक हजार ११४ जनाको शव विभिन्न स्थानबाट निकालिएको छ । अझै झण्डै चार हजार मानिस हराइरहेका विवरण प्राप्त भएका छन् । यस विपत्तिमा परी साढे सात हजार निजी घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्यालका अनुसार नुवाकोटमा तीन हजार ९७७, रसुवामा एक हजार ७७९, धादिङमा एक हजार ५५१ र गोरखामा २६३ निजी घर क्षतिग्रस्त भएका छन् । उहाँका अनुसार रसुवामा २५, नुवाकोटमा आठ, धादिङमा १७ र गोरखामा तीन गरी ५३ वटा सरकारी भवनसमेत ध्वस्त भएका छन् । घरबारविहीन भएका हजारौँ विस्थापित नागरिकलाई अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरहरूमा राखिएको छ ।
तस्वीरमा बाँचेको आशा
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पुर्याएको अकल्पनीय मानवीय क्षतिपछि काठमाडौं उपत्यकाका अस्पतालहरूमा केही दिनदेखि उपचार र स्वास्थ्य सेवासँगै बेपत्ता आफन्तको खोजी गर्नेहरूको भिड कायम नै छ । बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजीमा आफन्तजन अस्पताल–अस्पताल धाइरहेका छन् । अस्पताल परिसरका भित्तामा टाँसिएका बेपत्ता नागरिकका तस्वीरमा आँखा डुलाउँदै आफन्तहरू आफ्ना प्रियजनको अनुहार खोजिरहेका छन् । कसैको हातमा आफन्तको तस्वीर छ, कसैको आँखामा अझै उनी भेटिने आशा ।
बेपत्ता आफन्तको खोजीमा काठमाडौंका विभिन्न अस्पताल धाइरहनु भएका एक आफन्तका लागि पछिल्ला दिनहरू निकै पीडादायी बनेका छन् । अस्पतालका बेडदेखि परिसरका भित्तासम्म पुगेर आफ्ना आफन्तको नाम, तस्वीर र विवरण खोज्दा पनि कतै नामनिशाना नभेटिएपछि उहाँ निराश र दुःखी बन्नुभएको छ । ‘कुनै अस्पतालमा भेटिए कि भन्ने आशाले यहाँसम्म आइपुगेँ’, उहाँले भन्नुभयो, ‘तर अहिलेसम्म कतै पनि उहाँको खबर पाउन सकेको छैन ।’
बाढीले आफन्त गुमाउने पीडासँगै उनीहरूका लागि अर्को ठूलो पीडा बनेको छ, आफ्ना मानिस जीवित छन् कि छैनन् भन्ने अनिश्चितता । शव फेला नपरेसम्म आशा बाँकी रहने र खबर नआउँदासम्म मनले स्वीकार गर्न नसक्ने अवस्थाले आफन्तहरूलाई झनै बेचैन बनाएको छ ।
काठमाडौं उपत्यकाका अस्पतालहरूमा यस्ता आफन्तको संख्या बढ्दै गएको छ । अस्पतालको प्रवेशद्वारदेखि सूचना कक्षसम्म उनीहरू आफ्ना आफन्तको अवस्थाबारे जानकारी खोजिरहेका छन् । मोबाइलमा सुरक्षित राखिएका तस्वीर निकालेर देखाउँदै उनीहरू अस्पतालका कर्मचारी तथा सुरक्षाकर्मीसँग सोधपुछ गरिरहेका छन् । बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारका लागि अहिले हरेक अस्पतालको ढोका एउटा सम्भावित आशाको ढोका बनेको छ । तर, त्यही ढोकाबाट निराश भएर फर्किनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न कठिन छ ।
प्राकृतिक विपत्तिले घर, सम्पत्ति र भौतिक संरचना मात्रै बगाएको छैन, धेरै परिवारको जीवनलाई अनिश्चितताको गहिरो अँध्यारोमा धकेलेको छ । बाढीपछि उद्धार तथा खोजी कार्य भइरहे पनि बेपत्ता आफन्तको अवस्था पत्ता नलाग्दासम्म परिवारजनको प्रतीक्षा अन्त्य हुने अवस्था छैन ।
अस्पतालका भित्तामा टाँसिएका ती तस्वीरहरू अहिले केवल हराएका मानिसको परिचय बनेका छैनन्, ती परिवारको बाँकी रहेको आशाका प्रतीक बनेका छन् । हरेक दिन ती तस्वीरतिर टोलाइरहेका आँखाले एउटै प्रश्न गरिरहेका छन्, ‘हाम्रो मान्छे कहाँ छ ?’ बाढीले छोडेको विनाशको दृश्यभन्दा कम पीडादायी छैन अस्पतालमा देखिने यो प्रतीक्षा । एउटा खबरको आशामा अस्पताल धाइरहेका आफन्तका लागि समय बित्दै जाँदा आशा र निराशाबीचको दूरी झनै साँघुरिँदै गएको छ ।


+ There are no comments
Add yours