१० भाद्र, काठमाडौँ । कैलाश मानसरोवर यात्राको क्रममा रसुवा पुगेका ४७ जना पर्यटक सम्पर्कविहीन भएका छन् । काठमाडौँमा रहेको हिमालयन ग्लेसियरमार्फत मङ्गलबार बेलुका रसुवाको नेपाल–चीन सीमाक्षेत्रमा पुगेका उहाँहरु भोटेकोशी नदीमा बाढी आएलगत्तै सम्पर्कविहीन भएका हुन्।
सम्पर्कविहीन हुनेमा १० जना नेपाली र ३७ जना विदेशी पर्यटकहरु रहेको हिमालयन ग्लेसियरका सञ्चालक सागर पाण्डेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो कम्पनीमार्फत कैलाश मानसरोवरको यात्राका लागि रसुवागडी नाका पुग्नु भएका ४७ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा भारतीय मूलका अमेरिकी तथा क्यानडेली नागरिक र नेपाली पर्यटकहरु रहेका छन् । उहाँहरुको खोज तथा उद्धारका लागि हेलिकोप्टरमार्फत घटनास्थलतर्फ जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिरहेको छु।”
पाण्डेका अनुसार यात्रुहरू कैलाश जाने क्रममा मङ्गलबार रसुवाको सिमा क्षेत्रमा पुग्नु भएको थियो । आज बिहान चीन प्रवेश गर्न अध्यागमन क्षेत्रमा प्रवेश गरेकामा एक्कासी आएको बाढीमा वेपत्ता हुनुभएको हो । यात्रुहरूको अवस्था यकिन गर्न तथा सम्पर्क स्थापित गर्न प्रयास भइरहेको पाण्डेले जानकारी दिनुभयो । बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क प्रभावित भएको छ ।


+ There are no comments
Add yours