हालाण्डको दुई गोलमा ब्राजिल स्तब्ध, विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए फुटबलबाट सन्यास

२२ असार, काठमाडौँ । एर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

ब्राजिलविरुद्धको आफ्नो अपराजित इतिहासलाई कायम राख्दै नर्वेले राउन्ड अफ १६ को रोमाञ्चक खेलमा दक्षिण अमेरिकी दाबेदारलाई स्तब्ध पार्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

नर्वेको जितका नायक एर्लिङ हालाण्ड बने । उनले खेलको ७९औँ मिनेटमा एन्ड्रियास जेल्डेरुपको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसपछि ९०औँ मिनेटमा फेरि जेल्डेरुपकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित सुनिश्चित गरे । यससँगै प्रतियोगितामा हालाण्डको गोल संख्या सात पुगेको छ ।

ब्राजिलले खेलमा दुई पटक पेनाल्टीको अवसर पाए पनि त्यसको पूरा सदुपयोग गर्न सकेन । पहिलो पेनाल्टी ब्रुनो गिमारेसले गोलमा परिणत गर्न असफल भए ।

अतिरिक्त समयमा भने नेयमारले पेनाल्टीमार्फत सान्त्वना गोल गरे, तर त्यो ब्राजिललाई हारबाट जोगाउन पर्याप्त भएन । २८ वर्षपछि विश्वकपमा सहभागी भएको नर्वेले यस ऐतिहासिक जितसँगै क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको छ ।

अब नर्वेले सेमिफाइनल प्रवेशका लागि मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यता, विश्वकपबाट ब्राजिल बाहिरिएलगत्तै टोलीका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै पुरुष राष्ट्रिय टोलीको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय यात्रा टुंग्याएका हुन् ।

पराजयपछि भावुक बनेका नेयमारले भने, “मैले प्रयास गरें, धेरै प्रयास गरें । मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो । अब सबै सकियो ।” सन् २०१० मा ब्राजिलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनले चार वटा फिफा विश्वकप खेलेका थिए ।

उनले दुई ओलम्पिकमा पनि सहभागिता जनाउँदै सन् २०१२ मा रजत तथा सन् २०१६ मा ब्राजिललाई स्वर्ण पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

विश्वकप २०२६ मा भने उनी पूर्ण रूपमा फिट नभएका कारण दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए ।

समूह चरणमा स्कटल्यान्डविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका नेयमारले नर्वेविरुद्धको राउन्ड अफ १६ खेलमा इन्जुरी समयमा पेनाल्टीमार्फत प्रतियोगितामा आफ्नो एकमात्र गोल गरेका थिए ।

नेयमारको सन्याससँगै ब्राजिलियन फुटबलको एक सफल अन्तर्राष्ट्रिय अध्याय समाप्त भएको छ भने हालाण्डको नेतृत्वमा नर्वेले विश्वकप उपाधि यात्रालाई थप मजबुत बनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours