२३ चैत, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि मधेस प्रदेशबाट केन्द्रीय सदस्य पदमा मोहनप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका छन्। उनले भूगोलतर्फबाट केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रतिस्पर्धा गर्ने बताएका हुन्।
हाल जितपुरसिमरा उद्योग वाणिज्य संघ, बाराका अध्यक्ष रहेका शर्माले कमजोर अर्थतन्त्रको अवस्थामा निजी क्षेत्रको भूमिका थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताए। उद्योगी–व्यवसायीका समस्यालाई नीति निर्माण तहसम्म पुर्याएर समाधान खोज्ने आफ्नो प्रमुख उद्देश्य रहेको उनले उल्लेख गरे।
‘व्यवसायीहरूको आत्मविश्वास बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र उत्पादनमुखी अर्थतन्त्र विकासका लागि नीति तहमा सशक्त पैरवी गर्ने मेरो प्राथमिकता हुनेछ,’ शर्माको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
होटल तथा पर्यटन व्यवसायमा आबद्ध शर्मा ट्राभल्स तथा टुर अपरेसन क्षेत्रमा सक्रिय छन्। उनले स्थानीय उद्योग वाणिज्य संघहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य पनि अघि सारेका छन्।
शर्माले मधेस प्रदेशका उद्योगी–व्यवसायीले भोगिरहेका विविध चुनौती महासंघमार्फत उठाउने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो उम्मेदवारीले प्रदेशको प्रतिनिधित्व अझ सशक्त हुने उनको विश्वास छ।
‘भिजिट नेपाल २०२०’ अभियानअन्तर्गत मधेस प्रदेशमा पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालनमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए। त्यस्तै, कोभिड–१९ महामारीपछि प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्रदेश सरकार, स्थानीय तह तथा नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै उनले विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए।
संस्थागत अनुभवका हिसाबले पनि मधेस प्रदेशमा सफल मानिँदै आएका शर्मा हाल जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष हुन्। साथै, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशअन्तर्गत पर्यटन तथा हवाई यातायात समितिको सभापति तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेस प्रदेशका अध्यक्षको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।
उनको अनुभव, सक्रियता र निजी क्षेत्रप्रतिको प्रतिबद्धताका कारण उनी महासंघको केन्द्रीय नेतृत्वमा प्रभावकारी भूमिका खेल्न सक्ने उम्मेदवारका रूपमा हेरिएको छ।


+ There are no comments
Add yours