कानुन सुधारबिना सडक समस्या समाधान हुँदैन : सभापति थापा

१६ फागुन, काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक निर्माणमा हुने ढिलासुस्ती समाधानका लागि ठेकेदारलाई झुण्ड्याउनेजस्ता उग्र अभिव्यक्तिभन्दा कानुनी र नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ ले शुक्रबार आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले समयमै सडक निर्माण सम्पन्न गर्न ४१ वटा कानुन संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। विकास निर्माणमा हुने ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै उहाँले सडक निर्माण ढिला हुनुमा सबै पक्ष जिम्मेवार रहेको बताउनुभयो।

सभापति थापाले कानुन संशोधनका लागि आफूले सात वर्षदेखि गृहकार्य गरिरहेको उल्लेख गर्नुभयो। “कसैलाई ठोक्नुपर्छ वा झुण्ड्याउनुपर्छ भन्न सजिलो छ, तर त्यसले देश अगाडि बढ्दैन,” उहाँले भन्नुभयो।

उहाँले संविधान संशोधनका लागि संसद् तथा सबै राजनीतिक दल र तहबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। नयाँ र पुरानो भन्ने बहसभन्दा असल पक्ष जोगाएर खराब पक्ष सुधार्नुपर्ने उहाँको भनाइ थियो।

युवापुस्ताको अपेक्षा अनुसार रोजगारीका अवसर सिर्जना गर्न सक्ने पार्टी निर्माण आवश्यक रहेको उल्लेख गर्दै उहाँले युवालाई काम गर्ने वातावरण उपलब्ध गराउनुपर्ने बताउनुभयो।

सभापति थापाले आगामी निर्वाचन असामान्य परिस्थितिमा हुन लागेको उल्लेख गर्दै देशले ठूलो जनधनको क्षति व्यहोरेको स्मरण गर्नुभयो। पछिल्ला वर्षहरूमा राजनीतिक दल सरकार गठन र जोगाउने काममै अल्झिएको स्वीकार गर्दै उहाँले त्यसका लागि कांग्रेससहित सबै दल जिम्मेवार रहेको बताउनुभयो।

आगामी पाँच वर्षलाई सुशासन र प्रगतिका वर्ष बनाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले २०४६ सालपछि बनेका सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति तथा विभिन्न काण्डको छानबिन गरिने बताउनुभयो। छानबिन कांग्रेसबाटै सुरु हुने उहाँको भनाइ थियो।

थापाले युवालाई सामाजिक सञ्जालमा फैलाइने घृणा र उत्तेजनाबाट सचेत रहन आग्रह गर्दै संवाद र सहकार्यबाट मात्र देश अघि बढ्ने बताउनुभयो।

You May Also Like

More From Author

+ There are no comments

Add yours