निर्वाचन ६ दिन बाँकी : मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । निर्वाचन आउन ६ दिन बाँकी रहँदा निर्वाचन आयोग ले आजदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार उक्त निर्णय गरेको जनाएको छ।

सुरक्षाको समग्र अवस्थाको समीक्षा, वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन र सिफारिसका आधारमा गृह मन्त्रालय लाई आवश्यक निर्देशन दिइएको आयोगले उल्लेख गरेको छ।

आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ।


जिल्ला आचारसंहिता अनुगमन समितिलाई तोकिएका व्यक्ति तथा संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेधित कार्य हुन नदिन तथा उल्लंघन भए तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन भनिएको छ।

मतदानका दिन सवारी सञ्चालन व्यवस्था

मतदानका दिन अत्यावश्यक सेवाका सवारीसाधन—एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी तथा ढल मर्मतका सवारी—निर्वाध सञ्चालनमा रहनेछन्।

यस्तै, दूरसञ्चार सेवा मर्मतका सवारी, कूटनीतिक नियोगका सवारी तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारीसाधन पनि सञ्चालन गर्न दिइनेछ। तर सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइने आयोगले जनाएको छ।

मतदानका दिन अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत सञ्चालन हुनेछन्। टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा होटलसम्म आवतजावत गर्न सहजीकरण गरिनेछ। होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न पाइने व्यवस्था मिलाइने आयोगले जनाएको छ।

यी कागजात देखाएर मतदान गर्न पाइन्छ

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन्।

यसका अतिरिक्त राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात साथमा लिएर मतदान केन्द्रमा उपस्थित हुन सकिने व्यवस्था छ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने विषयमा मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा सरोकारवालालाई सूचना प्रवाह गर्ने निर्णय पनि गरिएको छ।

मतदानका दिन सवारी पास वितरणका लागि निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण एकाइ स्थापना गरिनेछ। उक्त एकाइमा निर्वाचन आयोगका दुई जना र जिल्ला प्रशासन कार्यालय काठमाडौँका दुई जना कर्मचारी खटाइनेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours