नेपथ्य सांगीतिक यात्रा : चार सहरमा सम्पन्न भयो उत्साहपूर्ण कन्सर्ट

०४ फागुन, काठमाडौँ। चर्चित लोकरक ब्याण्ड नेपथ्य ले फेब्रुअरी महिनालाई सांगीतिक उत्सवमा रूपान्तरण गर्दै देशका चार सहरमा सफल कन्सर्ट सम्पन्न गरेको छ। प्रेम दिवस र आसन्न राजनीतिक माहोलका बीच ब्याण्डले संगीतमार्फत दर्शकलाई एकताबद्ध गर्दै हेटौंडा, बुटवल, नारायणघाट र बन्दीपुरमा उत्साहपूर्ण प्रस्तुति दिएको हो।

यात्राको सुरुवात २१ माघमा हेटौंडाबाट भएको थियो। सहरको मध्यभागमा रहेको भुटनदेवी माध्यमिक विद्यालय परिसरमा आयोजित कन्सर्टमा उल्लेख्य दर्शक सहभागिता रह्यो। तीन वर्षअघि पनि सोही स्थानमा प्रस्तुत भएको ब्याण्डले यसपटक विद्यालयसँगै जोडिएको मैदान रोजेको थियो। द्वन्द्वकालमा शान्तिको सन्देश बोकेर पुगेको इतिहास सम्झँदै दर्शकले नेपथ्यलाई पुनः आत्मीय स्वागत गरेका थिए ।

त्यसपछि २४ माघ ‘रोज डे’ का अवसरमा बुटवलस्थित बुटवल इन्टरनेशनल कन्भेन्सन सेन्टर मा कन्सर्ट आयोजना गरिएको हो । शनिबार परेकाले आसपासका क्षेत्रबाट समेत दर्शकको उल्लेख्य उपस्थिति देखिन्थ्यो । प्रेम दिवसको सन्दर्भले कार्यक्रमलाई अझ रोमाञ्चक बनाएको थियो।

यस्तै २७ माघमा नारायणघाटको क्याम्पा चौर मा आयोजित तेस्रो प्रस्तुति पनि भव्य रह्यो। फराकिलो मैदान दर्शकले भरिभराउ बनेको थियो। तीन वर्षअघि सोही स्थानमा प्रस्तुति दिइसकेको नेपथ्यलाई पुनः स्वागत गर्न स्थानीय संगीतप्रेमी आतुर देखिन्थे।

यात्राको चौथो तथा विशेष प्रस्तुति भने १४ फेब्रुअरी अर्थात् फागुन २ प्रेम दिवसको साँझ तनहुँको पर्यटकीय पहाडी नगरी बन्दीपुर मा सम्पन्न भयो। टुँडिखेल मैदानमा पहिलोपटक यति ठूलो सांगीतिक कार्यक्रम आयोजना भएको हो। सिङ्गो गाउँपालिकाको करिब १९ हजार जनसंख्यामध्ये झण्डै एकतिहाइ बराबर दर्शकको उपस्थिति देखिएको अनुमान आयोजकको छ। बाहिरी जिल्लाबाट आएका दर्शकको बाक्लो उपस्थिति थियो भने विदेशी पर्यटकसमेत कार्यक्रममा रमाइरहेका देखिन्थे।

मञ्चमा प्रवेशसँगै ब्याण्डले ‘हो रामा रामा’ बाट कार्यक्रमको थालनी गरेको थियो। मुख्य गायक अमृत गुरुङले प्रेम दिवसको प्रसंग जोड्दै कलेज जीवनका सम्झना साटे र ‘आँगनैभरि’ प्रस्तुत गरे। दर्शकले स्वर मिलाउँदै साथ दिएका थिए। बन्दीपुरको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै गुरुङले स्थानीयको पहलले बजारलाई पुनर्जीवित बनाएको उल्लेख गरे र यस्तो प्रेरणा देशभर फैलियोस् भन्ने कामना व्यक्त गरे।

कार्यक्रममा लोकभाकामा आधारित ‘जोगले हुन्छ भेट’ जस्ता गीत गुन्जिए। दुई घण्टाभन्दा बढी चलेको कन्सर्टमा ब्याण्डले १७ गीत प्रस्तुत गरेको थियो। प्रस्तुति ‘रातो र चन्द्रसुर्जे’ मार्फत राष्ट्रिय भावनासहित समापन गरिएको थियो। ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले अमृतलाई साथ दिएका थिए।

यससँगै नेपथ्यको यस वर्षको पहिलो नेपाल यात्रा शृङ्खला सम्पन्न भएको छ। सात ट्रक, एउटा बससहित ७५ सदस्यीय टोली काठमाडौं फर्किसकेको छ। ब्याण्डले आगामी नोभेम्बरमा पुनः नेपाल यात्रा गर्ने तयारी गरेको जनाएको छ। यसअघि भने फेब्रुअरी २८ मा भारतको सिलिगुडीस्थित उत्सोधारा टिस्टा टाउनसिपमा प्रस्तुति दिने कार्यक्रम तय भएको छ, जहाँ नेपथ्य पहिलोपटक गुञ्जिन लागेको हो । ​

You May Also Like

More From Author

+ There are no comments

Add yours