२९ माघ, मुम्बई । बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादव यतिबेला गम्भीर कानुनी र आर्थिक संकटमा फसेका छन्। चेक बाउन्स मुद्दामा दिल्ली उच्च अदालतको आदेशपछि तिहाड जेलमा आत्मसमर्पण गरेका यादवको जमानत याचिकालाई अदालतले अस्वीकार गरिदिएको छ।
बिहीबार भएको सुनुवाइका क्रममा अदालतले उनलाई कडा शब्दमा जेल जानुको मुख्य कारण उनले आफ्नै बाचा पूरा नगर्नु रहेको बताएको छ। सुनुवाइका क्रममा दिल्ली उच्च अदालतले यादवलाई ‘सजाय किन रद्द गर्ने?’ भन्दै प्रश्न गरेको थियो।
पैसा उधारो लिएको र फिर्ता गर्ने बाचा आफैँले स्वीकार गरे पनि वर्षौँसम्म भुक्तानी नगरेको भन्दै अदालत उनीप्रति कठोर देखिएको छ। अदालतले यादवलाई ऋण चुक्ता गर्न २५ देखि ३० पटकसम्म मौका दिँदा पनि सदुपयोग नगरेको टिप्पणी गरेको छ।
राजपालका वकिलले भने उनी मुद्दा सुल्झाउन तयार रहेको र ५ करोडमध्ये ३ करोडभन्दा बढी तिरिसकेको दाबी गर्दै परिवारमा विवाह भएकाले जमानत दिन आग्रह गरेका थिए। तर, अदालतले कानुन सबैका लागि समान हुने भन्दै सोमबारसम्मका लागि सुनुवाइ स्थगित गरिदिएको छ।
संकटमा बलिउडको ऐक्यबद्धता
आर्थिक संकटका कारण जेल जीवन बिताइरहेका राजपाललाई सहयोग गर्न अहिले बलिउडका दिग्गज कलाकारहरू अगाडि आएका छन्। अभिनेता सोनु सुदले राजपाललाई आफ्नो फिल्ममा अनुबन्ध गर्दै साइनिङ अमाउन्ट दिने घोषणा गरेका छन्। उनले यसलाई दान नभई एक प्रतिभाशाली कलाकारको सम्मान र गरिमा भएको बताएका छन्।
त्यस्तै सलमान खान, अजय देवगन, वरुण धवन, डेविड धवन र गायक मीका सिंहले पनि आर्थिक सहयोगको हात बढाएका छन्। मीका सिंहले ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै अरूलाई पनि केवल पोस्ट मात्र नगरी वास्तवमै सहयोग गर्न अपिल गरेका छन्।
श्रीमती राधाको भावुक प्रतिक्रिया
राजपालकी श्रीमती राधा यादवले यस कठिन समयमा फिल्म उद्योगबाट पाएको समर्थनप्रति आभार प्रकट गरेकी छिन्। उनले उद्योगका सबैले राजपाललाई साथ दिएको र सहयोगका लागि अगाडि आउने सबैलाई धन्यवाद दिएकी छिन्।
राजपालका म्यानेजर गोल्डीका अनुसार धेरै सेलिब्रेटीहरूले व्यक्तिगत रूपमा सम्पर्क गरेर सहयोगको प्रतिबद्धता जनाएका छन्। फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै सबै निर्माताहरूलाई राजपालको सहयोगका लागि अपिल गरेको छ।
के थियो मुख्य विवाद?
यो विवाद सन् २०१० मा सुरु भएको हो, जब राजपाल यादवले आफ्नो फिल्म ‘अता पता लापता’ निर्माण गर्न मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। फिल्म फ्लप भएपछि उनी आर्थिक संकटमा परे र समयमै ऋण तिर्न सकेनन्।
ऋण लिँदा दिएका चेकहरू बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको थियो। सन् २०१८ मै उनलाई ६ महिनाको जेल सजाय सुनाइएको थियो, तर विभिन्न समयमा पैसा तिर्ने सर्तमा उनले राहत पाउँदै आएका थिए। अन्ततः बाचा पूरा नभएपछि उनले फेरि जेल जानुपरेको हो।


+ There are no comments
Add yours