०६ माघ, काठमाडौँ । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यकामा उम्मेदवारहरूको टुङ्गो लगाउन थालेको छ। पार्टीले २०७९ को निर्वाचनमा जितेका अधिकांश सांसदहरूलाई नै यसपटक पनि चुनावी मैदानमा उतार्ने नीति लिएको छ।
काठमाडौँका पुराना क्षेत्रहरूमा शिशिर खनाल (क्षेत्र नं. ६), गणेश पराजुली (क्षेत्र नं. ७) र विराजभक्त श्रेष्ठ (क्षेत्र नं. ८) ले पुनः निरन्तरता पाउने भएका छन्। तर, अघिल्लो पटक क्षेत्र नं. २ बाट जितेकी सोविता गौतम भने यसपटक चितवन क्षेत्र नं. ३ बाट चुनाव लड्ने भएकी छिन्।
काठमाडौँ क्षेत्र नं. १ मा यसपटक नयाँ अनुहारका रूपमा रञ्जु दर्शनाको उम्मेदवारी पक्का भएको छ। अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट पुकार बमले प्रतिस्पर्धा गरेका थिए। यस्तै, ललितपुर क्षेत्र नं. ३ मा डा. तोसिमा कार्कीले नै पुनः निरन्तरता पाएकी छिन्।
काठमाडौँ क्षेत्र नं. ९ मा रास्वपाका उपसभापति डीपी अर्यालको उम्मेदवारी निश्चित भएको छ। क्षेत्र नं. १० मा भने जिल्ला सभापति प्रदीप विष्टलाई निरन्तरता दिने चर्चाका बीच भर्खरै रास्वपा प्रवेश गरेका पूर्व सञ्चारकर्मी राजीव खत्रीले पनि बलियो दाबी प्रस्तुत गरेका छन्।
राजधानीका केही क्षेत्रमा भने उम्मेदवार छनोट प्रक्रिया पेचिलो बनेको छ। विशेष गरी क्षेत्र नं. २ र ३ मा काठमाडौँका मेयर बालेन शाहको समूहले पनि दाबी गरेपछि रास्वपालाई निर्णय लिन सकस परेको हो। नेता गणेश पराजुलीका अनुसार क्षेत्र नं. ४, ५, ९ र १० का साथै ललितपुरका १ र २ नम्बर क्षेत्रमा पनि छलफल जारी छ। भक्तपुरका दुवै क्षेत्रमा हालसम्म कसलाई उठाउने भन्ने निर्णय भइसकेको छैन।
पार्टीभित्रको छलफल र बाह्य शक्तिहरूसँगको तालमेलका कारण बाँकी रहेका क्षेत्रहरूको उम्मेदवार आज बिहान १० बजेसम्ममा टुङ्गो लगाउने तयारी रास्वपाले गरेको छ। पुराना सांसदहरूको कार्यक्षमता र नयाँ आकांक्षीहरूको लोकप्रियतालाई सन्तुलन मिलाउन रास्वपाका शीर्ष नेताहरू छलफलमा व्यस्त छन्।


+ There are no comments
Add yours