के आधारमा निर्वाचन आयोगले दियो गगन थापालाई मान्यता  ?

०२ माघ, काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको पक्षलाई प्रदान गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूहलाई मान्यता दिँदै पार्टीको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यो निर्णयका लागि तीन मुख्य आधारहरू लिएको बताएका छन्।

– नेपाली कांग्रेसको विधानबमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था छ। सोअनुसार माग भएपछि महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको र त्यसरी नै विशेष महाधिवेशन आयोजना भएको देखिएको छ।

– विधानतः महाधिवेशन प्रतिनिधि नै पार्टीको सर्वोच्च प्रतिनिधि हुने स्पष्ट व्यवस्था छ। यसले गरेका निर्णय नै दलको हुने देखिएको आयोगले ठहर गरेको छ।

– विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएको र यसरी आयोजना भएको महाधिवेशन विधानसम्मत रहेको स्पष्ट पारेको छ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, नेपालको संविधान तथा नेपाली कांग्रेसको विधानलाई आधार बनाएर यो निर्णय लिएको हो। यो निर्णयसँगै गगन थापा नेतृत्वको कांग्रेसले चुनाव चिन्ह ‘रुख’ र चारतारे झण्डा प्रयोग गर्न पाउने भएको छ। कार्यवाहक प्रमुख भण्डारीले चित्त नबुझ्ने पक्षलाई अदालत जाने बाटो खुला रहेको बताएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours