भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि विश्व बजारमा भूराजनीतिक जोखिम बढ्ने आशंकासँगै सुनको मूल्यमा तीव्र वृद्धि भएको छ। लगानीकर्ताहरूले सुरक्षित मानिने सम्पत्तितर्फ लगानी सार्दा सुनको मूल्य करिब २.४ प्रतिशत बढेर प्रतिऔंस ४ हजार ४३३ डलर पुगेको छ। चाँदीको मूल्य पनि ४.९ प्रतिशतले उकालो लागेको छ।
युरोपभरका रक्षा कम्पनीका सेयरहरू पनि सप्ताहन्तमा भएका घटनाको प्रभावले बढेका छन्। सैन्य खर्च बढ्नसक्ने अपेक्षामा रक्षा क्षेत्रका सेयरमा लगानीकर्ताको चासो बढेको देखिएको हो। तेलको मूल्य भने खासै परिवर्तन भएको छैन। तर, भेनेजुएलाका तेल भण्डारमा अमेरिकी कम्पनीहरूको पहुँच बढ्नसक्ने अनुमानका कारण अमेरिकी ऊर्जा कम्पनीका सेयरहरू प्रि-मार्केट कारोबारमै बढेका छन्।
अनिश्चितताको समयमा सुन र चाँदीजस्ता बहुमूल्य धातु सुरक्षित लगानीका रूपमा हेरिने भएकाले तिनको मूल्य प्रायः बढ्ने गर्छ। गत वर्ष सुनको मूल्य सन् १९७९ यताकै उत्कृष्ट वार्षिक प्रदर्शन गर्दै ६० प्रतिशतभन्दा बढीले बढेको थियो। डिसेम्बर २६ मा सुनले प्रतिऔंस ४ हजार ५४९.७१ डलरको ऐतिहासिक उच्च स्तर छोएको थियो।
यस वृद्धिका पछाडि ब्याजदर कटौतीको अपेक्षा, केन्द्रीय बैंकहरूले ठूलो परिमाणमा सुन खरिद गर्नु, विश्वव्यापी तनाव र आर्थिक अनिश्चितताबारे लगानीकर्ताको चिन्ता प्रमुख कारण रहेका छन्।


+ There are no comments
Add yours