२९ मंसिर, काठमाडौँ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई नेपाल प्रिमियर लिग (एनपीएल) सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिएका छन् ।
एनपीएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् । अध्यक्ष चन्दको नेतृत्वमा नेपाली क्रिकेट अर्को नयाँ उचाइमा पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । एनपीएलले नयाँ खेलाडी मात्र उत्पादन गर्ने नभई अन्तराष्ट्रियस्तरमा आफूलाई बलियो बनाउँदै लैजानेमा अध्यक्ष शाहको विश्वास छ ।
एनपीएलले सङ्गठनात्मक व्यवस्थापन र क्रिकेटको गुणस्तरका दृष्टिले उदाहरणीय मापदण्ड स्थापित गरेको उल्लेख गर्दै अध्यक्ष शाहले भविष्यमा नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि क्यानलाई निरन्तर सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।


+ There are no comments
Add yours