फिफा विश्वकप २०२६ को ड्र आज सार्वजनिक हुने, कुन पटमा कुन-कुन देश छन् ?

१९ मंसिर, काठमाडौँ । फिफा विश्वकप २०२६ का लागि आज शुक्रबार ड्र सार्वजनिक हुने भएको छ ।

ऐतिहासिक ४८ राष्ट्रहरू सहभागी भएको यस विश्वकपको ड्र वाशिङ्टन डीसीको प्रतिष्ठित जोन एफ. केनेडी सेन्टर फर द परफर्मिङ आट्र्समा हुनेछ । अमेरिका, क्यानडा र मेक्सिकोद्धारा संयुक्त आयोजना हुने यस संस्करणको विश्वकपमा ३९ दिनसम्म खेलिनेछ । जहाँ ४८ ओटै राष्ट्रहरुलाई १२ समूहहरूमा विभाजन गरिएको छ ।

नेपाली समयअनुसार राती पौने ११ बजे सुरु हुने ड्र करिब डेढ घण्टा चल्नेछ । ड्र सुरु गर्नुअघि प्रत्येक राष्ट्रको नाम विशेष कागजमा प्रिन्ट गरी प्लास्टिकका बलहरूमा टासिन्छ, जसलाई १ नम्बरदेखि ४ नम्बरसम्म टाँसिएको ‘पाट’ मा वर्गीकृत गरिनेछ । यी बलहरूलाई एउटा ठूलो सिसाको मिश्रण यन्त्रमा हालिन्छ र ड्रब गर्ने प्रतिनिधिहरूले एक–एक गरी निकाल्छन् ।

विश्वकपको ड्र पट १ बाट सुरु हुनेछ । फिफाले तोकेका १२ सिडेड टिमलाई ग्रुप ‘ए देखि एल’सम्म वर्गीकरण गरिनेछ । सिडेड फुटबल टिम भन्नाले कुनै फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका आधारमा अग्रणी स्थान पाएका टोलीहरूलाई बुझिन्छ । उनीहरुलाई ड्र गर्दा विशेष स्थान दिइएको छ । फिफाले सुरुवाती चरणमा नै दिग्गज राष्ट्रहरूबीच भिडन्त हुन नदिएर प्रतियोगितालाई सन्तुलित र आकर्षक बनाउन यस्तो गरेको बताएको छ । अर्थात फिफाले टुर्नामेन्टको ‘मार्केटिङ’ बढाउन र ठूला राष्ट्रहरू अन्तिमसम्म पुगोस भनेर यस्तो गरेको हो ।

फिफाले यस पटक विश्वकपका लागि १२ राष्ट्रहरुलाई सिडेड टिमका रुपमा चयन गरेको छ । जहाँ उत्कृष्ट ४ वरीयताका राष्ट्रहरु स्पेन, अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्ड छन् भने उत्कृष्ट ५ सिडेड राष्ट्रहरु बेल्जियम, ब्राजिल, जमर्नी, नेदरल्याण्ड्स र पोर्चुगल छन् भने ३ सिडेड स्थानमा भने आयोजक राष्ट्र क्यानडा, मेक्सिको र अमेरिका छन् ।

पट १ को ड्र पछि पट २, ४, ३ र ४ मा प्रवेश गर्ने फिफाले जनाएको छ । विश्वकपका लागि हालसम्म ४२ टिमहरू छनोट भइसकेका छन् अर्थात ६ वटा टिमको टुंगो अझैँ लागेको छैन । अन्तिम ६ स्थानको छिनोफानो भने सन् २०२६ को मार्च ३१ का दिन पक्का हुनेछ । अर्थात विश्वकप सुरू हुनुभन्दा तीन महिना अघि मात्रै ४८ वटै राष्ट्रहरूको नाम पक्का हुनेछ ।

यस्तोमा पट १ मा क्यानडा, मेक्सिको, अमेरिका, स्पेन, अर्जेन्टिना, फ्रान्स, इङ्ग्ल्यान्ड, ब्राजिल, पोर्चुगल, नेदरल्यान्ड्स, बेल्जियम र जर्मनी छन् भने पट २ मा क्रोएसिया, मोरोक्को, कोलम्बिया, उरुग्वे, स्विट्जरल्याण्ड, जापान, सेनेगल, ईरान, दक्षिण कोरिया, इक्वेडोर, अस्ट्रिया र अष्ट्रेलिया रहेका छन् ।

त्यस्तै पट ३ मा नर्वे, पनामा, इजिप्ट, अल्जेरिया, स्कटल्याण्ड, प्याराग्वे, ट्युनिसिया, आइभोरी कोस्ट, उज्बेकिस्तान, कतार र दक्षिण अफ्रिका छन् भने पट ४ मा जोर्डन, केप भर्डे, घाना, कुरासाओ, हैटी, न्यूजिल्यान्ड, युरोपेली प्ले–अफ विजेता ए, बी, सी र डी, अन्तरमहादेशीय प्ले–अफबाट विजेता १ र विजेता २ रहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours