०७ मंसिर, काठमाडाैँ । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालले आइताबरका लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ।
शनिबार सरकार र अभियानका प्रतिनिधिबीच बालुवाटारमा वार्तापछि दुर्गा प्रसाईं संयोजक रहेको अभियानले आइतबार गर्ने भनेको नेपाल बन्द र अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको हो।
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको थियो। छलफल क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।
छलफलमा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी भएको थियो। साथै अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. नीराजन प्रसाईँ पनि वार्ता सहभागी भएका थिए ।
सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना लगायतको उपस्थिति थियो।
त्यस क्रममा अर्को चरणको वार्ता महाअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी समेत भएको छ।



+ There are no comments
Add yours