२२ कार्तिक, काठमाडौँ । काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको कार्य शुभारम्भ गरेको छ। शुक्रवार सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले छपाइ कार्यको औपचारिक सुरुवात गरेका हुन्।
गत भदौ अन्तिम साताको जेन–जी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको लाइसेन्स छाप्ने मेसिनसहितका उपकरणहरू आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छाप्न लागेको हो।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले विभागसँगको समन्वयमा पहिलो चरणमा १२ लाख सवारीचालक अनुमतिपत्र छाप्ने जानकारी दिए। उनका अनुसार, सुरुमा दैनिक पाँच सयका दरले लाइसेन्स छापिने छन्। यातायात व्यवस्था विभागले दिएको तथ्याङ्कअनुसार पहिलो तीन महिनामा एक लाख लाइसेन्स छापिने र त्यसपछिको तीन महिनामा छपाइ क्षमता बढाउँदै लगिने ढुंगानाले बताए। लाइसेन्सको वैधानिकता जाँचका लागि २६ वटा सुरक्षा संकेतहरू राखिने उनले जानकारी दिए।
गत जेठमा नै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच छाप्न बाँकी २८ लाख हाराहारी लाइसेन्स छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। उक्त समझदारी साढे चार महिनापछि कार्यान्वयनमा गएको हो।


+ There are no comments
Add yours