१८ कार्तिक, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमशृंखला यलुङ री हिमालको बेसक्याम्पमा हिमपहिरो खस्दा पाँच विदेशी र दुई नेपाली गरी सात आरोहीको मृत्यु भएको छ।
हिमपहिरोमा परी पाँच जना घाइते भएका छन्। दोलखा प्रहरीका अनुसार मृत्यु हुने पाँच विदेशीमा अमेरिकी नागरिक तीन जना छन् भने क्यानडाका र इटालीका एक/एक जना छन्। उनीहरूसँगै रहेका दुई नेपालीको पनि मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ।
यता सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका लागि टोली गइसकेको छ। तीन वटै सुरक्षा निकायको उद्धार टोली सोमबार साँझ घटनास्थलमा पुगिसकेको उनले जानकारी दिए। पाँच हजार ६ सय ३० मिटर अग्लो यलुङ री आरोहणका लागि सोमबार बिहान पाँच विदेशीसहित सात नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए। बिहान करिब साढे ८ बजे आरोहणमा सहभागी सबैलाई हिमपहिरोले छोपेको थियो।
गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले ठुलो हिउँपहिरो खसेको जानकारी दिए। उनले कति संख्यामा आरोहीको मृत्यु भयो भन्नेमा यकिन हुन नसकेको बताए। ‘हामी सम्पर्क गर्ने कोसिसमा छौं, पाँच विदेशी र दुई नेपालीको मृत्यु भन्ने आएको छ। तीन जना यता सम्पर्कमा आइसक्नुभएको छ। उहाँहरूले पनि यकिन खबर दिनसक्नुभएको छैन,’ अध्यक्ष कार्कीले भने।
हिमपहिरोमा परेलगत्तै खटिएको सुरक्षाकर्मीहरू सोमबार राति ना गाउँमा पुगेका छन्। समयमा हिमपहिरोबाट उद्धार नहुँदा मानवीय क्षति भएको हो। हिमपहिरोमा सात जनाको मृत्यु भएको दोलखा प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए। उनका अनुसार आरोहणमा गएको टोली हिमपहिरोमा परेको सूचना ढिलो प्राप्त भएको थियो। केही दिनदेखि रोल्वालिङ उपत्यकाको मौसममा खराबी आएसँगै हिमपात भएको थियो। हिमपात भएपछि ना गाउँका स्थानीय बेदिङ झर्ने गरेका छन्।


+ There are no comments
Add yours