जेनजी आन्दोलनपछि भारतबाट भित्रियो पटका, जताततै विस्फोटको आवाज मात्रै

०४ कार्तिक, विराटनगर । तिहारको उज्यालो र रंगीन दीपमालाबीच सोमबार (लक्ष्मी पूजा)को राति पूर्वका सहरहरु पटकाका ठुल्ठूला आवाजले थर्थराए। कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वका विभिन्न सहर र ग्रामीण क्षेत्रमा जताततै विस्फोटको आवाज सुनियो।

लक्ष्मी पूजाको अवसरमा घर–घरका आँगनमा दियो र बत्ती बालिँदै गर्दा गल्ली, छत र सडकभरि धमाधम पड्काइएका एवं पड्किएका पटकाले वातावरण तातो र असहज बनायो। वातावरणीय चेतना र कानुनी निषेधका अनेक प्रयास हुँदाहुँदै पनि यसवर्ष तिहारको लक्ष्मी पूजाको रात फेरि पटकाले नै जित्यो।

तर, यसवर्षको पटका विस्फोट सामान्य पर्वको उत्साह मात्र नभएर राजनीतिक अशान्तिसँग पनि गाँसिएको देखिन्छ। सुरक्षा अधिकारीहरूका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि केही समय नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थित कमजोर भएको मौकामा भारतबाट ठूलो परिमाणमा पटाका भित्रिए। आन्दोलनपछिका केही दिन सीमा क्षेत्रमा सुरक्षाकर्मी चेकजाँच र कडाइ प्रभावकारी हुन नसक्दा तस्करको समूहले सहजै पटका भित्राउने अवसर पाएको सुरक्षा विश्लेषण छ।

कोशी प्रदेशका एक जना सुरक्षा अधिकारीले आन्दोलनपछिका केही दिन सुरक्षाकर्मीको सक्रियता घट्दा सीमाबाट ठूलो मात्रामा पटाका भित्रिएको र अहिले तिनै तिहारमा पड्किरहेको बताए। विराटनगरका एक व्यापारीले समेत दसैंअघि नै भारतबाट पटाका ल्याइएको बताए। आन्दोलनपछिका दिनमा सीमा क्षेत्रमा प्रहरीको उपस्थिति न्यून भएपछि सहजै भित्राउने काम भएको उनको भनाइ छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांक अनुसार मंगलबारसम्ममा झापा, मोरङ र सुनसरीलगायतका जिल्लाबाट १८ लाख ३५ हजार रुपैयाँ बराबरका पटाका बरामद भएका छन्। तर, विगत वर्षहरूमा करोडौं मूल्यका पटाका बरामद हुने गरेको थियो। चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रमा सुरक्षा सक्रियता बढाइयो। तर, सुरक्षाकर्मीले न्यून मात्रामा पटका बरामद गरेका छन्।

अहिले जताततै पटका पड्किएको आवाज सुन्न सकिन्छ। विस्फोटका ठूलठूला आवाज आउने गरेका छन्। विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड र भद्रपुरलगायतका पूर्वका ठूला सहरदेखि गाउँमा समेत रातभर ध्वनि प्रदूषण र धुवाँको असर महसुस गर्नु परेको स्थानीय बताउँछन्।

विराटनगरका बालकृष्ण दाहाल भन्छन्, ‘यसवर्ष विगतजस्तो पटका पड्किएको छैन। तर, रोक्न पनि सकिएको देखिएन। विगतमा दसैं सकिएलगत्तै पटका पड्किने गरेका थिए। अहिले केही दिनदेखि फाट्टफुट्ट रूपमा पड्किरहेको छ। लक्ष्मी पूजाको राति चैं अलि धेरै नै पड्कियो।’ उनका अनुसार विगतमा लगातार पटका पड्किएको आवाज मात्रै सुन्न पाइन्थ्यो। तर, यसवर्ष निक्कै कम पड्किएको महसुस उनले गरेका छन्। ‘लक्ष्मी पूजाको रात भने सबैतिर पड्कियो। सुत्न नै गाह्रो भयो। तर, विगतजस्तो हैन। पटका पड्किने क्रमले भने निरन्तरता पायो।’

वातावरणविद् रामचन्द्र अधिकारीका अनुसार पटकामा एलुमिनियम नाइट्रेट, सुल्फर डाइअक्साइड, लिड र बारुदजस्ता धातुयुक्त रसायन मिसाइएका हुन्छन् र त्यसले वातावरणमा औद्योगिक प्रदूषणभन्दा बढी असर गर्छ। ‘पटकाको धुवाँ सासमार्फत शरीरमा पस्छ। दम, एलर्जी र श्वासप्रश्वासजस्ता रोग बढाउँछ। दीर्घकालीन असर क्यान्सरसमेत हुनसक्छ। यसले मानव स्वास्थ्यदेखि वातावरण र जीवजन्तुलाई पनि ठूलो असर पुर्‍याउँछ,’ उनले भने।
विराटनगरको कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काका अनुसार पटकामा मिसाइने भारी धातुहरूले केन्द्रीय स्नायु प्रणालीमा असर पुर्‍याउँछन्। ‘गर्भवती महिलामा गर्भपतनको जोखिम हुन्छ, बालबालिकामा रगत र स्नायुमा समस्या देखिन्छ,’ उनले भने। उनले बालबालिकाले पटका खेलेपछि तत्काल हातमुख नधुने हुँदा रसायन शरीरमा पस्ने र दीर्घकालीन रोग निम्त्याउने जोखिम बढ्ने बताए।

प्रहरीका अनुसार पटका भारतबाट भित्रिने भएकाले नेपाली मुद्रा विदेशी बजारमा बगिरहेको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की भन्छन्, ‘पटकाको कुनै उपयोग छैन। बरु पैसा भारत जान्छ। स्वास्थ्य र वातावरण दुवै बिग्रन्छ।’ उनले पटका नियन्त्रणमा प्रहरी सक्रियता बढाइए पनि विगतजस्तो धेरै परिमाणमा बरामद नभएको बताए। ‘हामीले चेकजाँचमा कडाइ गरिरहेका छौं। त्यही पनि पटका पड्किने क्रम रोकिएको छैन। पटका ओसारपसार नियन्त्रण दीर्घकालीन योजना र नागरिक सचेततामै निर्भर छ।’

तिहारको अर्थ उज्यालो र सौन्दर्य भएको तथा विस्फोट नभएको डीआईजी कार्की बताउँछन्। ‘दियो र दीपमालाले नै संस्कृति जोगाउँछ। पटकाले होइन। यसले त अनेक समस्या ल्याउँछ। विस्फोटका क्रममा घाइते र अंगभंग हुने जोखिम रहन्छ। आगलागीको घटना हुनसक्छ। मानव स्वास्थ्य र वातावरणमा ठूलो असर गर्छ। त्यहाँमाथि नेपाली मुद्रा भारततिर पलायन हुन्छ। त्यही भएकाले पटकाको प्रयोगलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ,’ उनले भने।

पटकाको ओसारपसार र प्रयोग गैरकानुनी हो। तर, कानुनविपरीत अवैध रूपमा भित्राइएका पटका अहिले जताततै पड्किरहेका छन्। तिहारको झिलिमिलीमा पूर्वी नेपालका सहरहरू उज्यालोसँगै विस्फोटले पनि गुञ्जिएका छन्। ‘चाडपर्व एउटा उत्सव हो। तर, पटकाको आवाज उत्सवको प्रतीक हैन। असुरक्षा, प्रदूषण र उदासीन चेतनाको प्रतिध्वनि मात्रै हो,’ डीआईजी कार्कीले भने।

You May Also Like

More From Author

+ There are no comments

Add yours