०३ कार्तिक, काठमाडौँ। काठमाडौंको भृकुटीमण्डपमा भएको पाँचदिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ मा शनिबार एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल नर्सरी व्यवसायी संघद्वारा आयोजित एक्स्पो संयोजक लक्ष्मी महर्जनले ३५ हजार बढीले अवलोकन गरेको एक्पोमा एक करोडको कारोबार भएको जानकारी दिनुभएको हो ।
एक्स्पो समापन कार्यक्रममा पूर्वमन्त्री गणेश साहले वातावरण जोगाउने अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो भने नायिका मनिषा कोइरालाले परम्परागत रैथाने बिरुवा संरक्षण र सम्वद्र्धन गर्दै वातावरणमा सन्तुलन कायम राख्नुपर्ने बताउनुभयो । संघका अध्यक्ष रामजीप्रसाद तिमल्सिनाले आगामी दिनमा आयोजना गरिने एक्स्पोमा परम्परागत स्थानीय रैथाने नर्सरी बिरुवालाई समेत प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।
व्यवसायीलाई प्रोत्साहन गर्न घर-घरमा राखिएका नर्सरी तथा फूल पनि आगामी दिनमा प्रतिस्पर्धा गराउने योजना रहेको उहाँको भनाइ थियो । आयोजकका अनुसार एक्स्पोमा ६२ व्यावसायिक स्टलसहित वनस्पति विभाग, पुष्प विकास केन्द्रलगायतका अफिसियल चारवटा स्टल तथा प्रतिस्पर्धाका चार स्टल गरी ७० स्टल रहेका थिए । एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूलका साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउबिजन, औजार उपकरण तथा प्रविधिको स्टल रहेका थिए । एक्स्पो प्रवद्र्धन पुष्प विकास केन्द्र र वनस्पति विभागले गरेका थिए ।


+ There are no comments
Add yours