विपिन जोशीको मृत्युको कारण र परिस्थिति पत्ता लगाउन नेपालमा यसो गर्न सकिन्छ

३० असाेज, काठमाडौँ (बीबीसी )। नेपाल सरकारले इजरेलबाट विपिन जोशीको शव स्वदेश ल्याएपछि पनि मृत्युको वास्तविक कारण र परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन पहल जारी राख्ने बताएसँगै सम्भावित विकल्पबारे चासो व्यक्त भइरहेको छ।

अर्कातर्फ परराष्ट्र मन्त्रालय तथा तेल अभिभस्थित नेपाली दूतावास अधिकारीहरूले शव कुन अवस्थामा छ भन्ने कुरा नै थाहा हुन नसकेको बताएका छन्।

गाजा युद्धको सुरुतिर “बन्धक रहेकै अवस्थामा विपिनको हत्या भएको हुन सक्ने” भन्दै इजरेलको राष्ट्रिय विधिविज्ञान केन्द्रले मृत्युको परिस्थितिसम्बन्धी परीक्षण सम्पन्न गरेपछि उनको विषयमा अन्तिम निष्कर्ष निकालिने इजरेली सेना आईडीएफले जनाएको छ।

नेपाली अधिकारीहरूका अनुसार त्यस्तो अन्तिम निष्कर्ष आउन अझै केही समय लाग्ने इजरेली सरकारले बताएको छ।

मन्त्रालय र दूतावासका अधिकारी के भन्छन्?

काठमाण्डूस्थित परराष्ट्र मन्त्रालय तथा तेल अभिभस्थित नेपाली दूतावात स्रोतका अनुसार शवको अवस्थाबारे इजरेल सरकारले विस्तृत विवरण दिइसकेको छैन।

“कुन अवस्थमा शव छ, सग्लो छ अथवा छैन? अहिलेसम्म हामीलाई केही जानकारी छैन,” स्रोतहरूले बीबीसीसँग भने।

विपिनको परिवारलाई सहज हुने बेला शव ल्याउने गरी समन्वय भइरहेको अधिकारीहरूले बताएका छन्।

विपिन जोशीकी आमा पद्‌मा र बहिनी पुष्पा अमेरिकाबाट बिहीवार नेपाल आइपुग्ने उनका ठूलोबुवाका छोरा किशोर जोशीले बताए।

“उहाँहरू आइसकेपछि शव नेपाल पुग्ने गरी प्रक्रिया अगाडि बढाउन इच्छा जाहेर गर्नुभएकाले सोहीअनुसार काम भइरहेको छ,” नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी न्यूज नेपालीसँग भने।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पनि पीडित परिवारसँग समन्वय भइरहेको बताए।

“परिवारसँगको समन्वयमा विपिनको शव यथाशीघ्र नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

किशोरका अनुसार विपिनको परिवारले उनको अन्तिम संस्कार जन्मथलोमा नै गर्ने इच्छा राखेको छ।

विपिनको मृत्युको वास्तविक कारण र परिस्थितिबारे पत्ता लगाउने पहल गर्ने बताएको नेपाल सरकारले शवको फेरि पोस्टमोर्टम गरिने वा नगरिने विषयमा केही बताएको छैन।

“अहिले नै ठ्याक्कै भन्न सक्ने अवस्था भएन। परिवारको चाहना के छ? आवश्यकता र हाम्रो क्षमताका आधारमा तय हुने कुरा हो,” एक अधिकारीले भने।

विपिनका ठूलोबुवाका छोरा किशोरले भने सरकारले त्यसबारे के गर्छ भन्नेमा निर्भर हुने बताए।

यद्यपि विदेशी भूमिमा नेपाली नागरिकको मृत्युसम्बन्धी सत्यतथ्य के हो भन्ने थाहा हुनुपर्नेमा आफूहरूको पनि जोड रहेको अधिकारीहरू बताउँछन्।

“मृत्यु भएको समय ठ्याक्कै थाहा हुन नसक्ने भए पनि करिबकरिब कुन समयमा भएको हो थाहा हुनुपर्छ भन्ने हो। सोहीअनुसार मन्त्रालयको विज्ञप्तिमा पनि त्यो कुरा आएको हो,” ती अधिकारीले भने।

इजरेलका तर्फबाट फरेन्सिक रिपोर्टको अन्तिम निष्कर्ष आएपछि थप केही कुरा खुल्नेमा अधिकारीहरू आशावादी छन्।

नेपाली दूतावासका एक अधिकारीका अनुसार सन् २०२३ को नोभेम्बर १८ र २३ तारिखको बीचमा गाजास्थित अल-शिफा अस्पताल र एउटा सुरुङमा रहेको भनी विपिनको भिडिओ आएयता उनी जीवित रहेको इजरेली गुप्तचर निकायले बताएको थियो।

तस्बिरको क्याप्शन,धनबहादुर चौधरी (बायाँ) र विपिन जोशी टीकापुरमा स्नातक तहको अध्ययन गर्दा लिइएको तस्बिर

नेपालमा पोस्टमोर्टमको सम्भावना

विपिन जोशीको शव नेपाल ल्याइएपश्चात्‌ सरकारले चाहेमा पुनः पोस्टमोर्टम गराउन सक्ने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरी बताउँछन्।

“नभए सामान्यतया एकचोटि पोस्टमोर्टम भइसकेको शवको दोहोर्‍याएर हामीकहाँ गरिँदैन,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

यद्यपि शव धेरै पुरानो भएमा मृत्युको कारण पत्ता लगाउने सम्भावना कम रहने चौधरी औँल्याउँछन्।

“शवको पोस्टमोर्टम गर्न जति धेरै ढिलो हुन्छ, मृत्युको कारण पत्ता लाग्ने सम्भावना त्यति धेरै कम हुन्छ। ढिलो हुँदा भन्न सक्ने अवस्था कमजोर हुँदै जान्छ,” उनले थपे।

गोली लागेर अथवा चोटपटक लागेर कसैको मृत्यु भएको छ र हाडमा त्यसको असर परेको छ भने मासु वा शरीरको अन्य तन्तु नभए पनि मृत्युको कारण थाहा हुन सक्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालास्थित वैज्ञानिक अधिकृत निराजन थापा बताउँछन्।

“शार्प फोर्स, ब्लन्ट फोर्स अथवा गनशट हो कि, त्यो खालको मृत्युको केही कारण पुरानो हड्डीबाट पत्ता लगाउन सकिन्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

तर त्यस्तो मृत्युको पनि ठ्याक्कै समय पत्ता लगाउन गाह्रो हुने चौधरी बताउँछन्।

“क्लिनिकल फिचरका आधारमा कुन समयमा भएको हो भनी अनुमान चाहिँ गर्न सकिन्छ। ठ्याक्कै यही समयमा भएको भन्न सकिन्न,” उनले थपे।

तस्बिरको क्याप्शन,विपिनका बुवा हाल कञ्चनपुरस्थित घरमा शोकाकुल अवस्थामा छन् भने आमा र बहिनी अमेरिकाबाट फर्कन लागेको परिवारले जनाएको छ

विपिन जोशीको हकमा त्यही लागु हुने चौधरी सुनाउँछन्। “यदि उनी दुई वर्षअगाडि मारिएका हुन् र अहिले पोस्टमोर्टम गरिएको हो भने ठ्याक्कै यो समयमा मृत्यु भएको भन्न गाह्रै हुन्छ।”

विपिनको शव त्यति समयदेखि फ्रीजरमा राखिएको थियो अथवा रसायन हालेर राखिएको थियो भन्ने कुरा स्पष्ट नहुँदा कतिपय कुरा अनुमान गर्न कठिन भएको उनले सुनाए।

अर्का फरेन्सिक विज्ञ डा. हरिहर वस्ती पनि लामो समयसम्म फ्रीजरमा राखिएको शवको पोस्टमोर्टमबाट धेरै कुरा पत्ता लगाउने सम्भावना कम हुने बताउँछन्।

“कहिले मृत्यु भएको हो भनी थाहा हुँदैन, सम्भाव्य मिति अनुमान गर्न सकिने हो। झन् त्यति धेरै समयदेखि फ्रिजमा राखिएको शवको नमुनाबाट कहिले मृत्यु भएको भनी पत्ता लगाउन सकिँदैन,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

पहिचानका लागि मात्र डीएनए

डीएनए परीक्षण पहिचानका लागि मात्रै गर्ने गरिएकोले विपिनको हकमा त्यो फेरि गर्न नपर्ने विज्ञले बताएका छन्।

“कुनै कारणवश अनुहारले चिन्न सक्ने अवस्था रहेन अथवा कुनै अङ्ग मात्र बाँकी रह्यो भने डीएनए परीक्षण गर्ने हो। शव सग्लै छ, अनुहारबाटै चिनिन्छ भने डीएनए गर्न जरुरी हुँदैन,” राष्ट्रिय विधिविधान प्रयोगशालाका निराजन थापाले भने।

अधिकारीहरूका अनुसार विपिन जोशी हमास समूहको अपहरणमा परेपछि त्यति बेला नै नेपालमा भएका उनका परिवारजनमबाट डीएनएको नमुना सङ्कलन गरिएको थियो।

परिवारका सदस्यसँग डीएनए नमुना मेल खाएपछि सम्बन्धित परिवारलाई शव बुझाउने गरिएको छ।

कसरी इजरेल पुगेका थिए

नेपाली विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरेल जाने गरेका छन्।

कञ्चनपुरका विपिन जोशी पनि त्यसै कार्यक्रम अन्तर्गत गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।

अक्टोबर २०२३ को घटनामा अरू नेपाली घाइते भएका थिए भने विपिन जोशी सम्पर्कविहीन भएका थिए। उनी हमासको अपहरणमा परेको ठानिएको थियो। अन्य दुई जना भने सकुशल थिए।

विपिन जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।

केही साताअघि हमासले तस्बिरसहित सार्वजनिक गरेको एउटा सूचीमा उक्त लडाकु समूहले जोशीको नाम पहिलो पटक समाविष्ट गरेको थियो। तर उनको अवस्था खुलाइएको थिएन।

गत वर्ष इजरेली सेनाले फेला पारेको एउटा भिडिओमा जोशीलाई गाजास्थित एउटा अस्पतालभित्र लग्दै गरिएको देखिएको थियो। उक्त भिडिओ नोभेम्बर २०२३ को थियो।

हमासले खिचेको र आईडीएफले फेला पारेर परिवारजनलाई उपलब्ध गराएको अर्को भिडिओमा जोशीले आफ्नो परिचय दिएका छन्।

हमास समूह र इजरेलले सङ्घर्षविराम गर्ने तयारी गरेपछि जोशी परिवारले उनी “जीवित रहेको” प्रमाण भन्दै उक्त भिडिओ सार्वजनिक गरेको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours