क्यासिनोले राष्ट्र बैंकको इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने

२४ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरुलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्रा (भारतीय मुद्रा समेत) को कारोबार गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंक विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरुको प्रकृति अनुसार केन्द्रीय बैंकले विभिन्न विनियमावलीहरु समेत जारी गरेको छ।

नेपालभित्र क्यासिनो सञ्चालन गर्नेहरुको विदेशी मुद्राको कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिनुपर्ने व्यवस्था रहेकोे छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ दोस्रो संशोधन मार्फत् यस्तो व्यवस्था गरेको हो ।

क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा “नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद ४ मा व्यवस्था गरिएको छ ।

क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने लाइसेन्स लिन प्रति कारोबार स्थानको लागि २५ लाख रुपैयाँ बराबरको २ बर्षको बैंक जमानत र लाइसेन्स शुल्क वापत १ लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्ने व्यवस्था छ । त्यस्तै, नवीकरणका हकमा पनि २५ लाख रुपैयाँ लाग्ने छ ।

उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा प्रति कारोवार स्थानको लागि १० लाख रुपैयाँ बैंक जमानत र इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्छ । यसरी लिइएको इजाजत २ वर्ष नपुग्दै शुल्क बुझाएर नवीरकरण गरिसक्नुपर्ने व्यवस्था छ ।

ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरुले इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्नु/गराउन राष्ट्र बैंकले आग्रह गरेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours