१८ असाेज, दाङ । बाँकेको नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनको क्रममा उत्पन्न विवादले दुई समूहबीच झडप भएपछि तीन प्रहरीसहित करिब २० जना घाइते भएका छन् । शुक्रबार पिप्रहवा र फुल्टेक्रा खण्डमा भएको उक्त घटनाले केही समय तनावपूर्ण अवस्था सिर्जना गरेको थियो ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार घाइते सबैको अवस्था सामान्य छ र अहिले स्थिति पूर्णरूपमा नियन्त्रणमा लिइसकिएको छ । उनका अनुसार सामाजिक सञ्जालमा फैलाइएको ‘झडपमा ज्यान गएको’ भन्ने हल्ला निराधार हो ।
मुख्य झडप भएका स्थानमा प्रहरीले नियन्त्रण मजबुत बनाएको छ भने निगरानीलाई थप कडाइ गरिएको छ । सुरक्षाका दृष्टिले प्रहरीले आवतजावतमा समेत कडाइ गरेको र नेपाली सेनाले समेत गस्ती गरेको जानकारी दिइएको छ ।
स्थानीय बासिन्दालाई शान्ति र संयमित रहन आग्रह गर्दै प्रहरीले जिल्ला भित्र शान्ति–सुरक्षामा कुनै कमी नहुने विश्वास दिलाएको छ । विसर्जन उत्सवका बेला अचानक चर्किएको विवाद तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मी सक्रिय भएर खटिएपछि ठूलो घटना हुनबाट बचाइएको हो ।


+ There are no comments
Add yours