मुग्लिन-नारायणगढ सडक रातभर बन्द, बिहानसम्म पहिरो खसिरहेकाले खुलाउन समय लाग्ने

०४ असोज, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६:०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए। पहिरो ठूलो भएको र ढुंगा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ । शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । साँझ ६:०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours