संक्रमित दोस्रो पुस्ता नेताहरू

“हामीले गल्ती गरेका छौं, अब सुधारिन्छौं”

जगदीश्वर थापा

जगदीश्वर थापा

२८ भदाै, काठमाडौँ । हालसालै देशमा Gen Z को नाममा देखिएको आन्दोलन, असन्तोष, तोडफोड र विध्वंशलाइ कसैको योजना नमान्ने हो भने केवल युवाको आक्रोश मात्र होइन, राजनीतिको निरन्तर असफलताको परिणाम हो। पुराना नेताहरूको असफलताले देशलाई थला पारिसकेको छ। तर अझ दुःखद पक्ष भनेको, सुधारकको रूपमा उदाएका दोस्रो पुस्ताका नेताहरूले पनि पुरानै रोग बोकेर अझ खतरनाक संक्रमण फैलाइरहेका छन् अझै पनि।

आजैका दिनमा केही नेताहरू—शंकर पोखरेल, गगन थापा, प्रदीप ज्ञवाली सूर्य थापा, प्रदीप पौडेल—सार्वजनिक रोदनमा, “हामीले गल्ती गरेका छौं, अब सुधारिन्छौं” भन्दै आत्मालोचना गर्ने अभिनय गरिरहेका छन्। तर जनताले सुन्दै आएको यस्ता प्रतिज्ञा नयाँ होइन। प्रत्येक निर्वाचनअघि, प्रत्येक आन्दोलनपछि यस्तै आर्तनाद सुन्न पाइन्छ। तर हरेक पटक समय बित्दै जाँदा उनीहरू पुनः उही गुटबन्दी, अवसरवाद र सौदाबाजीमै फर्किन्छन्। सुधारको भाषण कागजी बाचा मात्र बन्न पुगेको छ।

“हामीले गल्ती गरेका छौं, अब सुधारिन्छौं”

नेपाली कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल जस्ता अनुहारहरू युवापुस्ताको आशा बनेका थिए। उनीहरूलाई नयाँ युगका प्रतिनिधि भनेर विश्वास गरियो। तर, परिणामतः उनीहरूले पुराना नेतासँगै उही शैलीलाई निरन्तरता दिए। जनताले पर्खेको “साँचो सुधार” उनीहरूको मुखमा मात्र अड्कियो।

एमालेका योगेश भट्टराई, प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, राम कुमारी झाक्री जस्ता नेताहरू पनि सुरुमा आशाको प्रतीक थिए। तर सत्तामा पुगेपछि, पुरानै शैलीमा सीमित भए। विद्यार्थी आन्दोलनको गौरव बोकेर आएका यी अनुहारहरू व्यवहारमा सुधारक बन्न असफल भए। शंकर पोखरेलजस्ता मतिहिनहरूले अहिले आँसु झार्दै आत्मालोचना गरे पनि राजनितिक भाषामा धम्की दिए पनि, जनतामा अब यिनीहरूलाइ विश्वास गर्ने ठाउँ बाँकी छैन।

माओवादी केन्द्रमा जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन जस्ता नेताहरूको भूमिका अझ पीडादायी छ। युद्धकालीन आदर्श बोकेर आएका यी नेताहरूले शान्ति प्रक्रियापछि नयाँ अभ्यास गर्ने अवसर पाए पनि, भ्रष्टाचार र सत्ताको खेलमै अल्झिए। जनार्दन शर्मामाथि लागेको कर हेरफेर र वर्षमान पुनमाथीको सुन प्रकरण माओवादीको शुद्धतामाथि कालो धब्बा बनेर अझै बाँकी छ।

तराई–मधेसका दलहरूमा पनि त्यही विडम्बना छ। अनिल झा, सरद सिंह भण्डारी, लक्ष्मण लाल कर्ण जस्ता दोस्रो पुस्ताका नेताहरूले आन्दोलनका बलिदानलाई जनताको मुद्दा होइन, व्यक्तिगत सौदाबाजीको साधन बनाएका छन्। यो मधेसको बलिदानप्रति अपमान मात्र होइन, भोलिको भविष्यलाई अँध्यारो बनाउने संकेत हो।

आज सडकमा देखिएको Gen Z को आक्रोश केवल असन्तुष्टि होइन, पुराना र दोस्रो पुस्ता दुवै नेताहरूको असफलता विरुद्धको चिच्याहट हो। दुःख यसमा छ—जसलाई सुधारक ठानियो, जसबाट नयाँ बाटोको अपेक्षा गरियो, उनीहरू नै अझ खतरनाक संक्रमण बोकेर देशलाई गहिरो संकटतर्फ धकेलिरहेका छन्। र अझै पुरानै पहुँचमा फर्कने अरण्य रोदन गर्दैछन् ।

यसैले अबको कठोर सत्य स्पष्ट छ—जनताले पुराना मात्र होइन, यस्ता दोस्रो पुस्ताका नेताहरूलाइ पनि फेरि राजनीतिमा फर्कन दिने कुनै अवसर दिनु हुँदैन। आँसु बगाउँदै “अब सुधारिन्छौं” भन्ने मुखुण्डोमा जनता फेरि धोका खानुहुँदैन। संविधान जोगाउने नाममा यदि यो पुस्तालाई रोकिएन भने, सडकमा उठिरहेको युवाको असन्तोष अझ उग्र बन्छ र देशको भविष्य अझ अँध्यारो हुनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours