२८ भदाै, काठमाडौँ । काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले देशले परिवर्तन पाएको भन्दै जेनजीप्रति सम्मान प्रकट गरेका छन् ।
मुलुकमा अन्तरिम सरकार गठन र संसद् विघटन भएपछि मेयर बालेनले सामाजिक सञ्जालमार्फत देशले परिवर्तन पाएको भन्दै आन्दोलनकारी जेनजीप्रति सम्मान प्रकट गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरेका थिए । शपथलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । यसप्रति खुसी हुँदै मेयर बालेनले जेनजीको योगदान र बलिदानप्रति सम्मान प्रकट गरेका हुन् ।
उनले भनेका छन्, ‘प्रिय जेन–जेड, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईंहरूप्रति असिम सम्मान।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीका युवाले भदौ २३ गते काठमाडौँको बानेश्वरलगायत देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना मारिए भने चार सय भन्दा बढी घाइते भए । त्यसको आक्रोशमा भोलिपल्ट उनीहरूले आन्दोलन थप चर्काउँदा प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, शीतलनिवास लगायत राजनीतिक दलका पार्टी र शीर्ष नेताहरुको घर समेत जलाए ।
आन्दोलन भड्किएर नियन्त्रणबाहिर भएपछि केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । आन्दोलनमा मारिनेको संख्या अहिलेसम्म ५१ पुगेको छ । अझै कैयौँ घाइते अस्पतालमा उपचाररत छन्।


+ There are no comments
Add yours