महान्यायाधिवक्ता कार्यालयमा अचम्मको लुटपाट : सीपीयू फुटाउने, हार्डडिस्क लैजाने

२५ भदौं, काठमाडौं। प्रायः सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीहरुले महान्यायाधिवक्ता वक्ता कार्यालयमा भने फरक शैलीमा लुटपाट गरेको भेटिएको छ ।

उनीहरुले महान्यायाधिवक्ता वक्ता कार्यालयका सबैजसो कम्प्यूटरको सीपीयु तोडफोड गरेर त्यहाभित्रको हार्डडिस्क लिएर गएका हुन् । अरु कार्यालयको तुलनामा महान्यायाधिवक्ता वक्ता कार्यालयमा उनीहरुले निकै कम कागजात जलाएका थिए ।

उनीहरुले सबैजसो महाशाखाहरुमा कम्प्यूटरहरु तोडफोड गरेका हुन्। ‘प्रायः सबैजसो कम्प्यूटरको सीपीयू मात्रै तोडफोड भएको छ, अनि भित्र रहेको हार्डड्राइभ गायव छ’ महान्यायाधिवक्ता वक्ता कार्यालयका एक उच्च अधिकारीले भने, ‘कागजात र फाइलमाथि क्षति गर्नेभन्दा पनि हाम्रोबाट हार्डड्राइभ लुटपाट भएको छ।’

नायव महान्यायाधिवक्ता वक्ता गोपाल रिजालका अनुसार, कम्तिमा पनि सयभन्दा बढी कम्प्यूटरको सीपीयु र हार्डड्राइभ हराएका छन् । ठूला सीपीयु भएका कम्प्यूटरहरु फोडेर हार्डड्राइभ लुटपाट भएको छ भने साना खालका सीपीयू सिंगै लगिएको छ । केही ठाँउमा कागजात जम्मा पार्ने र जलाउने गरेका छन् ।

पछिल्ला वर्षहरुमा सरकारी वकिलको कार्यालय ‘डिजिटलाइज्ड’ हुदै गएको थियो । जिल्लादेखि महान्यायाधिवक्ता वक्ता तहका कर्मचारीहरु आफूले अभियोगपत्र लेख्ने, जिल्लाको फैसला विरुद्ध पुनरावेदनको निवेदनको मस्यौदा गर्थे ।

सरकारी वकिलहरु हार्डकपी भन्दा पनि डिजिटल कपीमै केन्द्रित हुन थालेका थिए । तल्लो तहबाट आउने फाइलहरु भने हार्डकपी हुन्थे । सरकारी वकिलहरुले कार्यालयभित्रको आन्तरिक प्रणालीको भित्री तहसम्मको सूचनामा पहुँच हुने व्यक्तिकै योजनामा लुटपाट भएको आशंका गरेका छन् ।

कम्प्यूटरको प्रयोग नै नगर्ने केही उच्च अधिकारीहरुको कार्यालयमा कुनै तोडफोड भएको छैन भने कम्प्यूटर प्रयोग गरेर काम गर्नेहरुको सीपीयु सद्दे अवस्थामा छैन । केही कोठामा मात्रै लक तोड्न नसकेका कारण भित्र रहेका कम्प्यूटरहरु प्रदर्शनकारीहरुबाट जोगिएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours