१९ भदाै, मकवानपुर । सडक पेटीको बास, डेन्ड्राइडको सहारामा धानिएको जीवन । नेपाली समाजमा बोलीचालीको भाषामा उसको परिचय ‘खाते’ थियो । खुला आकाश उसको घर थियो, च्यातिएका बोरा र कार्टुनका टुक्रा बिछ्यौना ।
यो कहानी चलचित्र वा परिकल्पनामा मात्र सीमित होइन, हेटौंडाका गल्ली–गल्लीमा कुनै समय भेटिने राजु अधिकारीको कथा हो । त्यतिवेला न उनको नाम थियो, न अन्य परिचय ।
अहिले उनी डाङ्डुङ्गेका राजु अधिकारी भनेर चिनिन्छन् । सडक जीवनदेखि अहिलेको अवस्थासम्म आइपुग्न उनले कठिन यात्रा पार गरेका छन् ।
मामाघर नेपालको संरक्षणमा हुर्किएका राजु अधिकारीले वैदेशिक रोजगारीको कमाइबाट हेटौंडामा ४ कोठे पक्की घर बनाएका छन् । लागु औषध दुर्व्यसन र विभिन्न असामाजिक गतिविधिबाट गुज्रिँदै हक्कीको राष्ट्रिय खेलाडी बनेका राजुको यो यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन ।

२०६८ सालमा हेटौंडाको सडकबाट उद्धार गरिएका राजुलाई मामाघर नेपाल मकवानपुरले संरक्षण दिएको थियो । संस्थाका संस्थापक अर्पण पराजुली (मामा) को प्रेरणा र साथले राजुको जीवनले नयाँ मोड लियो । डेन्ड्राइटको नशामा डुबेर भोक बिर्साउने र फोहोरको थुप्रोमा भविष्य खोज्ने राजुको त्यो अतीत गुज्रिसकेको छ । उनी आफ्नो अगाडि सुन्दर भविष्यको सपना सार्थक हुँदै गएको अनुभूतिमा छन् ।
अँध्यारो अतीत र सडकको जीवन
मकवानपुरको हेटौंडामा अन्तरजातीय विवाह गरेका आमाबुबाको निरन्तरको कलह र बुबाको कुटपिट सहन नसकी केवल ६ वर्षको उमेरमा राजुले घर छाडेका थिए । त्यसपछि उनले सडकलाई नै घर बनाए । उनका साथी पनि आफूजस्तै सडक बालबालिका नै थिए । जाडोमा कठ्याङ्ग्रिँदा होस् वा कसैले ‘खाते’ भन्दै पानी छ्यापेर ब्युँझाउँदा होस्, उनको बाल्यकाल अत्यन्तै कष्टकर रह्यो ।
अरुले फालेका चुरोटका ठुटा तान्नु र भोक लाग्दा डेन्ड्राइटको नशामा लठ्ठिनु उनको दैनिकी थियो । राजुले काठमाडौँका हनुमानढोका, न्यूरोडदेखि हेटौंडाका गल्लीसम्म करिब एक दशक सडकमै बिताए, जहाँ उनले कयौँ पटक प्रहरीको डण्डा पनि खाए ।
अर्पण ‘मामा’सँगको भेट
२०६७ सालतिर सडक बालबालिकामाथि थेसिस लेख्ने क्रममा अर्पण पराजुलीको भेट राजु र उनका साथीहरूसँग भयो । एकदिन सडक पेटीको ठेलामा अरुले मःम खाएर छाडेको टपरी चाटिरहेको दृश्यले अर्पणको मन छोयो ।
उनले ती बालबालिकालाई मःम खुवाए, उनीहरूसँगै उनीहरूकै जस्तो बनेर ५२ दिन सडकमा बिताए । यही क्रममा एक बालकले अर्पणको थर पराजुली भएको थाहा पाएपछि ‘मेरो मामा पनि पराजुली’ भने । त्यहीँबाट अर्पण सबैका ‘मामा’ बने, अनि जन्मियो ‘मामाघर नेपाल’ । अर्पण मामाले नै राजुलाई नाम दिए, पहिचान दिए र माया के हो भन्ने सिकाए ।
सडकको खुला जीवनबाट मामाघरको अनुशासित जीवनमा अभ्यस्त हुन राजुलाई सहज थिएन । उनी पटक–पटक भागे । तर अर्पण मामाको अथक प्रयास र सम्झाइ बुझाइपछि उनी मामाघरमै रमाउन थाले ।

यसैबिच मामाघरमा सहयोग स्वरूप प्राप्त भएको हक्की ब्याट र बलले उनको जीवनमा नयाँ मोड ल्याइदियो । हक्की प्रशिक्षक मनोज शर्माको नजरमा परेपछि उनले व्यावसायिक तालिम पाए र पछि हक्कीका राष्ट्रिय खेलाडी बन्न सफल भए । उनले प्रदेशस्तरीय प्रतियोगितादेखि इण्डो–नेपाल इन्टरनेशनल फ्रेन्डसिप सिरिजसम्म खेले र आफ्नै कप्तानीमा नेपाललाई जित पनि दिलाए ।
औपचारिक शिक्षामा मन नलागेपछि मामाघरले उनलाई विभिन्न सिपमूलक तालिमहरूमा लगायो । उनले इलेक्ट्रीसियन, प्लम्बिङ, फ्रिजमर्मत जस्ता काम सिके ।
कतार यात्रा अनि घरको सपना
खेलकुदले मात्रै जीवन धान्न सक्ने अवस्था थिएन । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा राजुलाई आफ्नो परिचय बनाउनु थियो । आफ्नो स्थायी परिचय बनाउन घर आवश्यक छ भन्ने अर्पण मामालाई राजुले प्रेरणा बनाएका थिए । सोही प्रेरणाबाट राजुमा विदेश जाने रहर पलायो ।
आफ्नै घर बनाउने सपना बोकेर उनी कतार पुगे । विदेशको भूमिमा अनेकौं दुःख र चुनौतीको सामना गरे, तर आफ्नो लक्ष्यबाट विचलित भएनन् । अहिले राजुको त्यो सपना साकार भएको छ ।
हेटौंडा उपमहानगरपालिका–११, डाङ्डुङ्गेमा १० धुर जग्गामा बनेको ४ कोठे घर र जग्गाको लालपुर्जा आज राजुको हातमा छ । बुधबारमात्र हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा एक विशेष कार्यक्रमबिच उनलाई गृह प्रवेश गराइएको छ ।
‘हेर्दा घर सानो होला तर हाम्रो लागि यो दरबारभन्दा कम छैन । राजुको पारिवारिक पुनर्स्थापना गराउन नसके पनि सामाजिक पुनर्स्थापना गराउन सफल भएकोमा हामी खुसी छौँ । यो एक व्यक्तिको गृहप्रवेश मात्र नभई एक प्रवृत्तिको रूपान्तरण हो,’ अर्पण मामाले भने ।
हिजो कसैको सहारा खोजिरहेका राजु आज आफैँ अरुका लागि प्रेरणाको स्रोत बनेका छन् । उनी आफ्नो भाइ राजालाई पनि सडकबाट उद्धार गरी मामाघरमा राखेर पढाइरहेका छन् । अर्पण मामाको ‘आफूले खाए पेट भरिन्छ, अरुले खाए आत्मा भरिन्छ’ भन्ने भनाइलाई आत्मसात् गर्दै उनी अब आफूजस्तै दुःख पाएकाहरूप्रति सहयोगी भावना प्रकट गर्छन् ।


+ There are no comments
Add yours