०७ भदाै, काठमाडौँ । बलिउडमा असाध्यै सफल चलचित्र ‘शोले’ निर्माणको ५० वर्ष पुगेको छ । यसक्रममा उक्त चलचित्रलाई हजारौँ ‘मिम’हरुमा प्रयोग गर्ने क्रम अद्यापि जारी छ । यसका संवाद, गीत, नृत्य तथा विशेष प्रकारका विभिन्न चाल–ढालहरू अहिले पनि भारतीय जनजीवनमा लोकप्रिय छन् । यो चलचित्रबारे विश्वविद्यालयका प्राध्यापकहरूले समेत आफ्नो चिन्तन र अध्ययन केन्द्रित गर्ने गरेका छन् ।
रमेश सीप्पीको यो चलचित्रको एउटा दृश्यले सन् १९९० को दशकमा एउटा प्राज्ञिक अनुसन्धान प्रतिवेदन तयार गर्न समेत प्रेरित गरेको थियो । चलचित्रमा ठाकुरको भूमिकामा रहेका सञ्जीव कुमारको घरको एउटा दृश्य छ । जसमा ठाकुरकी बुहारी राधा अर्थात जया बच्चन बिस्तारै बत्ती निभाउँदै हुन्छिन् । जसले दिनको अन्त्य गरेर रातको अँध्यारो सुरु भएको दृश्य देखिन्छ ।
यस अवस्थामा राधालाई हेर्दै जय अर्थात अमिताभ बच्चनले आफ्नो हार्मोनियममा मधुर धुन बजाउँछन् । दिल्ली विश्वविद्यालयका प्राध्यापक नेल्लिकल ज्याकोबले यसलाई ‘चाहना र दमनको द्वन्द्वात्मक’ भनेका छन् ।
प्राध्यापक ज्याकोवको अनुसन्धान शोलेबारे भएका धेरै अनुसन्धान मध्ये एक हो । बलिवुडमा पश्चिमा चलचित्रको प्रभावबाट बनेका चलचित्रलाई ‘करी वेष्टर्न’ भन्ने गरिन्छ । यस्ता चलचित्रहरू प्रतिको आकर्षण भारतमा मात्रै सीमित नभएर अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको छ ।
यसले अन्य मुलुकका विद्वानहरूको समेत ध्यान तान्ने गरेको छ । अमेरिकी काउब्वाई चलचित्रहरू तथा अकिरा कुरोसावाको ‘सेभेन सामुराई’ बाट प्रभावित भएर भारतीय शैलीमा बनाइएको शोलेलाई पनि ‘करी वेष्टर्न’ भन्ने गरिन्छ ।
प्राध्यापक करेन ग्याब्रियल यौनिकता, दृश्य संस्कृति तथा सामाजिक सिद्धान्तका अध्येता हुन । उनी भन्छन् ‘यो चलचित्र सिनेमा अध्ययनका प्रत्येक विद्वानको जानकारीमा रहेको थियो । साथै यसबारे धेरै अनुसन्धान आलेख, पुस्तक तथा प्राज्ञिक लेखहरू लेखिएका थिए ।’
जब उनले सन् १९९०को दशकमा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गरे । प्रा. ज्याकोबको ध्यान भने बत्ती र बार्दलीको दृश्यमा थियो । उनी उक्त दृश्यमा विधवा राधाको मौनतामा इच्छा र सामाजिक निषेधबिचको अन्तरक्रिया देखिरहेका थिए ।

‘जयसँग भएको भेटले उनको मनमा एउटा यस्तो इच्छा जागृत गर्छ, जसलाई सिप्पीले धमिलो गरी वा अप्रत्यक्ष रूपमा मात्रै उल्लेख गर्न सकिने ठानेका छन् । उनको अव्यक्त र मौन इच्छा चलचित्रको धेरैजसो भागमा थोरै इशारा र मुहारको भावमार्फत मात्रै प्रकट बहेको छ’ ज्याकोब भन्छन् ।
राधाको सुस्त र सकसपूर्ण चाल मार्फत उनी कसरी आफ्नो मनलाई दबाएर राखेकी होलिन् भन्ने देखाउने दाबी गर्छन् । साथै जयको हेराई पनि एक प्रकारको उदासीनता र चाहनाको मिश्रण हो । जय आफ्नो इच्छा शब्दमा व्यक्त गर्दैनन् । बरु उही आफ्नो हार्मोनिका बजाउँछन् ।
भारतको सङ्कटकाल र शोले
इन्दिरा गान्धीले सङ्कटकाल लगाएको केही महिना लगत्तै रिलिज भएको शोलेलाई राष्ट्र निर्माण तथा त्यसबारेको राजनीतिक चिन्ताको सन्दर्भमा पनि हेर्ने गरिन्छ । त्यसबखत भारतको कलिलो लोकतन्त्र विविध खाले अस्तित्ववादी प्रश्नहरूको घेरामा थियो ।
आफ्नो अनुसन्धानात्मक आलेख ‘बलिउड सिनेमा: मेकिंग इलिफेन्टस फ्लाई’ मा मीनाक्षी शेड्डेले भनेकी छन् सन् १९७० को दशक यस्तो पानिढलो थियो, जहाँबाट भारतमा चलचित्रहरू मुख्यधारा वा वैकल्पिक दुबैतर्फ राष्ट्रका ‘अन्तप्रज्ञा’ बन्न थालेका थिए ।
‘मुख्यधारामा हेर्दा यो दशकले बलिउडका सुपरस्टार अमिताभ बच्चनलाई प्रारम्भिक सफलता दिलायो, जुन आज ६० वर्ष पछि पनि भत्किन सकेको छैन । उनले आफ्नो सिने जीवनमा निर्वाह गरेका भूमिकाहरूमा मानिसले न्याय र समानताका लागि कानुन तोडेका दृश्यहरू असाध्यै मोहित भएर हेरे । दर्शकहरूले अन्यायको बदला लिने स्वर्गदूतको भूमिका, दुष्ट साहू, भ्रष्ट प्रहरी र बलात्कारीहरू विरुद्ध न्याय दिलाउने आफ्ना कल्पनासँग जोडेर काल्पनिक नै सही धेरथोर आनन्द लिए’ शेड्डेको भनाई छ ।
सिनेमाको संसार भन्दा बाहिर एकातर्फ इन्दिरा गान्धीका राजनीति विरोधीहरू जेलमा कोचिए भने अर्कोतर्फ इन्दिरा विरोधी भूमिगत आन्दोलनको तयारी चल्दै थियो । पात्रको रूपमा अमिताभ बच्चनको सिने करियरको विकास, भुईमान्छेहरुको नायकका रूपमा भयो ।
शोले त्यसकै एउटा मुख्य पर्यायवाची पनि थियो । त्यो नायक या त टुहुरो हुन्थ्यो वा आमाबाबुको ठेगान नभएको हुन्थ्यो । तर आम मानिसहरुसँग जोडिएको हुन्थ्यो । साथै उनीहरूलाई परिचालन गर्न सक्थ्यो । फिल्मबारेका अर्का विज्ञ एम. माधव प्रसादले भने जस्तै बच्चनले ‘कानुनको सर्वोच्चतालाई जोगाउँदै एउटा सुखदायक तथा प्रलयकारी नायक’ को भूमिका खेले ।
शोलेमा ठाकुर मात्रै यस्तो पात्र हो, जसलाई गाउँमा उसको उच्च जातको थर र वर्गीय हैसियतले सम्बोधन गरिन्छ । ठाकुरले त्यहाँ सामन्ती व्यवस्थाको प्रतिनिधित्व गर्छ । चलचित्रले स्थापना गरेको त्यो समाजको अवस्थिति त्यही हो ।
प्रसादले आफ्नो पुस्तक ‘आइडियोलोजी अफ द हिन्दी फिल्मः अ हिस्टोरिकल कन्स्ट्रक्सन’मा लेखेका छन्, ‘ठाकुरको दुर्दशाले सहानुभूति जगाउँछ । गब्बरसँग बदला लिने उसको उत्कट आकाङ्क्षाले हामीलाई पनि मोहित गराउँछ । हामी पनि जान–अन्जानमा विद्यमान व्यवस्थाकै पुनर्स्थापनामा सहानुभूति जगाउन थाल्छौँ ।’
ठाकुरको दुःखले दुई सन्दर्भ देखाएको छ । एकातिर गब्बरले प्रतिनिधित्व गर्ने अपराधसँगको टकरावमा कानुन र व्यवस्थाले आफ्नो काम गर्न असक्षम भएको भने अर्कोतर्फ गाउँको धनाड्य वर्ग र राज्य बिचको गठबन्धनमा देखिएको दरार पनि प्रस्तुत गर्छ ।
गब्बरले प्रतिनिधित्व गर्ने सबै खाले परिधीय तत्त्वहरूलाई हटाएर सामन्ती व्यवस्थालाई कानुनसँग समान देखाउँदै पुनर्स्थापित गर्ने भाव पनि एक अर्थमा फिल्मले बोकेकै छ ।
जय र वीरू मामुली अपराधीहरू हुन । यद्यपि तिनीहरू राज्यद्वारा परिचालित छन् । तर, गब्बर भने खुंखार अपराधी हुन । गब्बर तथा जय–वीरुमा फरक छ । ‘तिनीहरू त्यस्ता पात्रका रूपमा छन्, जोसँग भारतीय समाजमा हुर्कदै गरेका सर्वहारा तथा अन्य असन्तुष्ट वर्ग समूहका दर्शकले आफूलाई तुलना गर्न सक्छन् ।

‘यस अवधिमा विकास हुँदै गरेको सिने संस्कृतिको गज्जब विशेषता भनेकै अपराधीलाई पनि कुशलतापूर्वक विद्रोहीको रूपमा देखाउन सक्नु थियो’ प्रसाद लेख्छन् । यसले जय र वीरु जस्ताहरूलाई सामन्ती व्यवस्थालाई चुनौती दिने गब्बर जस्तो अर्को ‘सबाल्टर्न’ व्यक्तित्व जसलाई डाँका देखाइएको छ, उसको व्यक्तित्व भन्दा फरक बनाइदिन्छ ।
उनीहरु एक प्रकारले त्यही व्यवस्थाको सेवा गर्न विवश हुन्छन् । ठाकुर सुरुमा आफैँ प्रहरी अधिकारी थिए । कानुनको माध्यमबाट न्याय पाउन नसक्ने भएपछि उनी आफै कानुनी पद्धतिलाई पन्छ्याएर अन्य विकल्प खोज्न पुग्छन् ।
ग्याब्रियलका अनुसार, ‘निःसन्देह फिल्मले भारतमा कानुनी प्रक्रियाहरू सुस्त र कमजोर छन् भन्ने देखाउँछ । जसकै कारण प्रहरी ढिलो आइपुगेको देखाइएको छ । अर्को सन्दर्भमा जेलको हाकिमको भूमिकामा कलाकार असरानीले जोकरको भूमिका खेलेका छन् ।’
सिप्पीको यस फिल्ममा जय र वीरू नामका पात्रहरू मार्फत अन्ततः विद्रोह हुँदैन । आखिर व्यवस्थाकै पुनस्र्थापना हुन्छ । जय र राधाको जस्तो प्रेमकथा तत्कालीन समाजमा सम्भव नहुने भएकाले जयलाई हटाइएको छ । जया मारिन्छन् । साथै राधा पनि आफ्नो त्रासद जीवनमै फर्किन्छिन् । वीरू र बसन्ती आफूलाई आपसमा समाहित गर्छन् । सम्भवतः उनीहरूको विवाह हुन्छ ।
‘गब्बर सिंहको खलनायकी स्थापित गर्न महिलाहरूमाथि उसको रवैयालाई प्रयोग गरिएको छ । बसन्तीलाई कसरी नाच्न लगाउँछन् वा हेलेनले उसको समूहकै अन्य पुरुषहरूको अगाडि प्रस्तुति दिँदा उनी कस्तो देखिन्छन् भन्ने भंङ्गिमाको सहारा लिइएको छ’, ग्याब्रियल भन्छन् ।

यस विपरीत नायकहरूलाई ‘आदर्श’ देखाउनका लागि जय र वीरूलाई महिलाहरूको प्रभावका कारण थप राम्रो काम गर्दै जाने पुरुषहरूको रूपमा प्रस्तुत गरिएको छ । तिनीहरूले ठाकुरको पैसा अस्वीकार गर्छन् । पुरस्कारका लागि नभएर डाँकाहरूबाट गाउँलेलाई जोगाउन गब्बरसँग लड्ने निर्णय गर्छन् ।
शोले प्रदर्शनमा आएको केही वर्षपछि फिल्मबारे बौद्धिक टिप्पणीहरू भिन्न रूपमा पनि आउन थाले ।
शोलेमा समलैंगिकताको झल्को
२१औँ शताब्दीको पहिलो दशकको आखिरीतिर आइपुग्दासम्म शोले्लाई समलैंगिकताको आँखाबाट पनि नियाल्ने लहर सुरु भयो । चर्चित भारतीय विद्वानहरू जय र वीरू बिचको मित्रतामा ध्यान दिन थाले । उनीहरूको आपसी अन्तरक्रियामा यौन सङ्केत पनि रहेको पत्ता लगाए ।
‘ये दोसती’ बोलको गीत हिन्दी सिनेमाको इतिहासमै मित्रताबारे गाइएको उत्कृष्ट गीतहरूमा पर्ने ठानिन्छ । आर. राज राव र अशोक राव कवि लगायत विद्वानहरूले यस गीतका शब्दहरूमा ध्यान केन्द्रित गरे । उनीहरूले उक्त गीतका शब्दलाई समलैंगिक चाहनाको अभिव्यक्तिका रूपमा अर्थ्याए ।

‘एउटा हरफ त सोझै यौनिकता झल्काउने खालकै छ । त्यसमा ‘म तिमीबाट जेसुकै पनि लिन्छु’ भनिएको छ । — ‘तेरे लिए ले लेंगे’ । ‘ले लेंगे’ भारतका गल्लीहरूमा यौन सम्पर्कको अर्थमा प्रयोग हुने चल्तीको अनौपचारिक शब्द मानिन्छ’, अशोक राव कवि लेख्छन् ।
त्यसै गरी रावले आफ्नो निबन्ध ‘मेमोरीज पियर्स द हार्ट’ मा ३५० सीसी मोटरसाइकललाई लिंगको प्रतीकको रूपमा परिभाषित गरेका छन् । रावका अनुसार गम्भीर स्वभावका नायकका रूपमा अमिताभ बच्चनको लोकप्रियताले उनलाई सिनेमामा हेर्ने युवा दर्शकहरूमा समलैंगिक आकर्षण सिर्जना गर्यो ।
‘अमिताभ बच्चनले सिनेमाको पर्दामा अन्य पुरुष कलाकारहरूसँग बनाएको सम्बन्ध तथा त्यसमा हलभरी टनाटन भरिएका पुरुष दर्शकहरूको भिडले आपसमा पूरक रूपमा चलचित्र हलको अँध्यारो कोठामा एक प्रकारको समलैंगिक भावना मुर्झाउने वातावरण बनाउने काम गरे ।’
उनका अनुसार भारतका पुरुषहरू शारीरिक सामीप्यबारे धेरै खुला र उदार छन् । शारीरिक निकटता मार्फत आपसमा स्नेह पनि दर्शाउँछन । जब अमिताभ बच्चन जस्तो नायकले ‘मान्छेहरू हामीलाई फरक दुईको रूपमा देख्छन् तर खासमा हामी एउटै हौँ । हे भगवान् ! हामीलाई आशीर्वाद दिनुहोस् ताकी हामी कहिल्यै अलग हुनु नपरोस् । कहिल्यै एक–अर्कोलाई चोट पुर्याउनु नपरोस्’ जस्ता शब्द भएका गीत गाउँछन् ।
यसले धेरै सम्भावनालाई थप सहजीकरण गरिदिन्छ । राव उल्टै प्रश्न गर्छन् ‘यदि अमिताभ बच्चनले पर्दामा अन्य पुरुषहरूप्रति दोस्ती वा यारीका नाममा अमर प्रेम व्यक्त गर्छन् भने उनका युवा दर्शकहरू किन त्यसलाई पछ्याउन हिच्किचाउछन् त ?’
यस्ता प्रकारका अध्ययन र व्याख्यालाई सङ्कुचित भएको तथा र अपूर्ण प्राज्ञिक प्रस्तुतिको रूपमा पनि कहिलेकाही अस्वीकार गर्ने गरिएको छ ।
अर्का अध्येता मौसमी भट्टाचार्यले आफ्नो अनुसन्धान लेख ‘ब्रोमान्स इन बलिउडः इज इट डिस्म्यान्टलिङ होमोहिस्टेरिया एण्ड होमोफोयिबा ?’ मा दुई बिचको मित्रतालाई समलैंगिकता नभएर समसामाजिक सन्दर्भ मान्दै ‘ब्रोमान्स’ को रूपमा व्याख्या गरेकी छिन ।
उनले कवि र रावका कृतिहरू प्रयोग गरेर शोलेको गीतलाई समलैंगिक पाठको रूपमा पढ्ने कामले भारतको सामाजिक संरचनामा अवस्थित ‘ब्रोमान्स’ को बुझाई गलत हुने उल्लेख गरेकी छन् ।
‘एकैसाथ अपराध कृयाकलापमा जोडिनु भनेको उनीहरू साझा हितका लागि जोडिएका छन् भन्ने देखाउँछ । ब्रोमान्सको एक मुख्य आधारका रूपमा त्यसले काम गर्छ । तर, तिनीहरू कस्तो पृष्ठभूमि र हुर्काईबाट आएका हुन भन्ने खुलाइएको छैन ।
सामाजिक–आर्थिक अवस्था उस्तै–उस्तै हुनसक्छ भन्ने चाहिँ सहजै अनुमान गर्न सकिन्छ । मिलेर एकसाथ अपराधमा भाग लिएका उनीहरुसँगै पक्राउ पर्छन । साथै जेल सजाय पनि सँगै भोग्छन भन्ने कुरा भने फिल्मको कथाबाटै बुझिन्छ’, भट्टाचार्य लेख्छिन् ।
समलैंगिक हो वा होइन भन्ने सन्दर्भ त बहसकै विषय हो । तर शोले चलचित्र र यसको गीतले अमिताभ बच्चनका लागि भने फिल्मी करियरको छुट्टै विशिष्ट मार्ग स्थापित गरिदियो ।
बच्चन काल

जावेद अख्तर भन्छन्, ‘कलाकारका रूपमा अमिताभको आक्रोश कहिल्यै नराम्रो देखिएन । अन्य कलाकारको आक्रोशमा अहङ्कार मिसिएको भान हुन्थ्यो । तर अमिताभको आक्रोशमा दुःख र आँसुको मिश्रण देखिन्थ्यो ।’
जब सन् १९७५ मा शोले हलहरूमा रिलिज भयो यसलाई ‘मल्टी–स्टार’ तथा उल्लेखनीय चलचित्रका रूपमा प्रवर्द्धन गरिएको थियो । पहिलो पोस्टरमा सबै कलाकारहरु हरेकको ‘पासपोर्ट’ साइजको फोटोमा समेटिएका थिए । तिनीहरूको मुहारलाई पोस्टरको पुछारको तेर्सोमा मिलाएर राखिएको थियो ।
जसको वरपर धपक्क बलेको सुन्तला रंगको ज्वालाको ’ब्रशस्ट्रोक’ देखाइएको थियो । बाँकी रहेको फ्रेममा चलचित्रको नाम थियो । जवाहरलाल विश्वविद्यालयमा सिनेमा अध्ययनबारे अध्यापनरत रञ्जनी मजुमदार लेख्छिन्– ‘शोले प्रदर्शनको पहिलो हफ्ता व्यावसायिक रूपमा त्यति राम्रो भएन । निर्माता तथा वितरकहरू पहिलो हप्तामा अलिकति झस्किए । त्यसपछि अमिताभ बच्चन र धर्मेन्द्रलाई पोस्टरको फ्रेममा प्रमुखताका साथ राखेर फरक प्रकारको प्रचार सामाग्री तयार गरियो । जसमा गब्बर सिंहको रूपमा अभिनय गरेका अमजद खान पनि देखाइएका थिए ।’
केही हप्ता पश्चात शोलेलाई वलिउडको बक्स अफिसमा सफल चलचित्र घोषित गरियो । साथै गब्बर सिंहलाई चलचित्रको सबैभन्दा लोकप्रिय पात्र समेत घोषित गरियो । पोस्टरहरूको नयाँ संस्करणमा अमजद खानलाई पोस्टरको प्रमुख आइकनको रूपमा राखियो । जसकारण गब्बरको व्यक्तित्व दर्शकहरूमाझ सफल भएको सिद्ध हुन थाल्यो ।
अमजद खानले अरु पनि धेरै सफल सिनेमाहरूमा अभिनय गरे । तर उनले अमिताभ बच्चन जस्तो अद्वितीय पहिचान निर्माण गर्न सकेनन् । सुरुवातमा अमिताभले हृषिकेश मुखर्जी लगायतका फिल्महरूमा हल्का स्वभावको भूमिका खेल्ने गरेका थिए । तर सलिम–जावेद जोडिले तयार गरेका खासगरी ‘जन्जीर’ (१९७३), ‘शोले’ तथा ‘दिवार’ चलचित्रहरू एक पछि अर्को आउन थालेपछि उनी नयाँ ब्रान्ड नायकका रूपमा उदाए ।
शोलेमा अमिताभले धर्मेन्द्रलाई शारीरिक रूपमा त्यति धेरै ओझेलमा पारेका छैनन् । तर उनको दुब्लो शरीर र क्यामेराको चलाखीले गर्दा उनलाई वास्तविक जीवनभन्दा ठुलो भने अवश्य देखाएकै थियो । यसले गर्दा ‘एङ्ग्री योङ म्यान’ तथा नयाँ खाले सुपरस्टारको रूपमा उनको छवि बलियो बनाउन मद्दत पुग्यो ।
उक्त चलचित्रको लेखन जोडी सलीम–जावेद मध्येका एक जावेद अख्तरले अमिताभ बच्चनले सर्वहारा वर्ग वा सबाल्टर्न पात्रहरूको चित्रण गर्दा कसरी दर्शकहरूमाझ लोकप्रिय भए भन्ने बारेमा रोचक कुरा भनेका छन् ।
‘टकिङ फिल्म्सः कन्भर्सेसन्स अन हिन्दी सिनेमा विथ जावेद अख्तर’ मा उक्त फिल्मका गीतकार तथा पटकथा लेखक जावेद भन्छन्, ‘कलाकारका रूपमा अमिताभको आक्रोश कहिल्यै नराम्रो देखिएन । अन्य कलाकारको आक्रोशमा अहङ्कार मिसिएको भान हुन्थ्यो । तर अमिताभको आक्रोशमा दुःख र आँसुको मिश्रण देखिन्थ्यो ।’
तर जावेदलाई पछि गएर अमिताभ बच्चनले आफूमा अहङ्कार विकास गरे जस्तो लाग्न थाल्यो । तर, उनी सन् १९७० को दशकमा भने अमिताभ हाबी भएकै हो भन्ने मान्छन । जे होस शोले चलचित्रले धेरै ठुलो छाप छोड्यो । विद्वानहरू शोलेले सिर्जना गरेको अमर अपिल बुझ्नका लागि आजपर्यन्त विविध कोणबाट शोलेलाई पढ्ने काम गरिरहेकै छन् ।

रिलिज भएको ५०औँ बर्षमा आइपुग्दा पनि यसप्रतिको आकर्षण अझै सकिएको छैन । हैदराबादको नलसार विश्वविद्यालयमा कानुन अध्ययनरत विद्यार्थी नमन कुमारलाई यो चलचित्रले आकर्षित गर्यो । सम्झौता कानुन वा ‘कन्ट्र्याक्ट ल’ बारे पढाइको क्रममा उनले आफ्नो ‘टर्म पेपर’ मा जय र वीरूले ठाकुरलाई गब्बर पाउनका लागि गरेको ‘वाचा’ बारे अध्ययन गरेका छन् ।
त्यस्तो वाचा भारतीय कानुनमा तत्कालीन समयमा प्रचलित सम्झौताको परिभाषाको दायरा अन्तर्गत नै पर्दथ्यो । चलचित्रको अन्त्यमा जय त मर्छ । तर पनि वीरुले आफ्नो वाचा पुरा गर्छ । तथापि त्यो सन्दर्भ तत्कालीन समयमा प्रचलित कानुन अनुरूप पर्याप्त भने थिएन ।
कुमारका अनुसार, ‘ठाकुर तथा जय–वीरूबीच भएको सम्झौताको दृश्यमा जब वीरूले जयको मृत्यु पछि आफूहरू दुबैजनाको तर्फबाट वाचा पूरा गर्छन् । उनलाई त्यो सम्झौता नभएर केवल वाचामात्रै थियो भन्ने थाहा हुदैन । खासमा त्यसलाई सम्झौता मान्न पनि मिल्दैन किनभने उक्त वाचा वा सम्झौताको उद्देश्य नै अवैध छ ।’
यसरी शोले आफ्नो ५० वर्षसम्म आइपुग्दा आम दर्शक, गम्भीर अध्येता तथा विद्यार्थीहरूका लागि आज पनि खुराक उपलब्ध गराई रहेको छ ।


+ There are no comments
Add yours