वीरगञ्जमा हैजा फैलियो : ६ मा पुष्टि, सतर्क रहन आग्रह

०७ भदाै, काठमाडाैं । पर्साको वीरगञ्ज महानगरपालिकामा हैजाका बिरामी भेटिएका छन्। वीरगञ्ज महानगरपालिका १२ मुर्लीको नयाँ टोलमा शुक्रबार साँझ हैजाका तीन बिरामी भेटिएपछि स्वास्थ्य सतर्कता अपनाउन महानगरले आग्रह गरेको छ।

नयाँ टोलमा एकै दिनमा ३० जनाभन्दा बढीमा पखालाको समस्या देखिएको थियो। पखालाका बिरामी धेरै सङ्ख्यामा स्वास्थ्य संस्थामा पुगेपछि महानगरपालिका कार्यालयलाई खबर गरिएको थियो।

वीरगञ्जमा रहेको तराई हस्पिटलमा बिरामीको चाप बढेपछि परीक्षण गर्दा हैजाको जीवाणु कोलेरा पाइएपछि महानगरको स्वास्थ्य शाखाले सचेत रहन अपील गरेको छ।

नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वयमा केही बिरामीको परीक्षण गरिएको छ। शुक्रबार अबेर रातसम्म तीन जना र शनिबार बिहान थप तीन जनामा गरी छ जनामा हैजाको जीवाणु पुष्टि भइसकेको छ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले हैजाको प्रकोप विस्तारै फैलिँदै गएको बताए। हैजा महामारीले विकराल रूप नलेओस् भनेर सचेतना अपनाउन स्वास्थ्य कार्यालयले पनि अनुरोध गरेको ठाकुरको भनाइ छ।

वीरगञ्जका विभिन्न अस्पताल र क्लिनिकमा पखालाका बिरामी भर्ना भएका छन्। गत बिहीबारदेखि केही मानिसमा देखिएको झाडापखाला शुक्रबार अबेर साँझसम्म सय जनाभन्दा बढीमा देखिएको विश्वस्त स्रोतको दाबी छ।

जनस्वास्थ्य अधिकृत ठाकुरले करिब दश वर्षपछि पर्सामा हैजाको प्रकोप देखिएको बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours