२७ साउन, काठमाडौँ । पछिल्लो समय विद्युतीय सवारी साधनको आकर्षण बढ्दो छ । गत आर्थिक वर्ष २०८१/८२ मा ३१ अर्ब बढीको विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार रुपैयाँको विद्युतीय सवारी साधन आयात भएको हो ।
गत वर्ष १३ हजार ५६९ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो । सो परिमाणमा सवारी साधन भित्रिदा आयातकर्ताले १९ अर्ब ७० करोड २६ लाख १३ हजार रुपैयाँ राजस्व बुझाएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २ अर्ब २७ करोड रुपैयाँ बढीको विद्युतीय सवारी साधन आयात भएको छ । अघिल्लो आर्थिक वर्ष ११ हजार ७०१ वटा सवारी आयात गर्दा २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँ बाहिरीएको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाट क्षमताका कार, जीप र भ्यान गरी ७ हजार ४३१ विद्युतीय गाडी आयात भएका छन् । ती सवारी साधनको आयातबाट मात्रै १८ अर्ब ६२ करोड रुपैयाँ बिदेशीएको छ । सबैभन्दा बढी विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।
त्यस्तै, ५० किलोवाटसम्मको ४ हजार ७३२ वटा, १०१ देखि २०० किलोवाटसम्मको १ हजार ३६२ वटा, २०१ देखि ३०० किलोवाटसम्मको ४२ र ३०० किलोवाटमाथिको २ वटा कार, जीप भ्यान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
नेपालमा चीन, भारत, मलेसिया, जर्मन, अमेरिका, दक्षिण कोरिया र इन्डोनएसिया लगायतका मुलुकबाट विद्युतिय सवारी साधन भित्रिने गरेका छन् ।
विभिन्न देशबाट ईभी आयात भएतापनि चीनका सवारी साधनमा ग्राहकहरु आकर्षित भएका छन् । यस अवधिमा चीनबाट सबैभन्दा बढी विद्युतीय सवारी साधन आयात भएको छ । गत आर्थिक वर्ष चीनबाट मात्रै २४ अर्ब ७३ करोड २६ लाख २ हजार रुपैयाँको १० हजार २०७ वटा ईभी आयात भएका हो ।
चीनपछि सबैभन्दा धेरै भारतबाट आयात भएको विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा भारतबाट ६ अर्ब ४६ करोड ६५ लाख ६० हजार रुपैयाँको ३ हजार २४६ ईभी आएका छन् ।
यस्तै, मलेसियाबाट १२ करोड ५४ लाख १२ हजार रुपैयाँ बराबरको ५० वटा ईभी आयात भएका छन् भने जर्मनीबाट ३३ करोड १४ लाख ९८ हजार रुपैयाँ बराबरको ४५ वटा ईभी आयात भएको हो ।
अमेरिकाबाट ४ करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको ११ वटा, साउथ कोरियाबाट ४ करोड ३६ लाख २ हजार रुपैयाँ बराबरको ६ वटा र इन्डोनएशियाबाट ७४ लाख २२ लाख रुपैयाँको ४ वटा ईभी नेपाल भित्रिएको विभागले जनाएको छ ।


+ There are no comments
Add yours