रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ

२५ साउन, त्रिवेणी । जिल्लाका ६ वटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको थियो ।

जिल्लाका चौरजहारी, मुसिकोट र आठबिसकोट नगरपालिका तथा सानीभेरी, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा धानखेती हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । यो वर्ष समयमा वर्षा हुनुका साथै मौसमले साथ दिएकाले समयमै रोपाइँ सकिएको कार्यालयका प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार जिल्लामा ३ हजार ४८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

यहाँ खुमल–४ र ६, राधा–४ सहित अन्य हाइब्रिड जातका धानखेती हुँदै आएको कार्यालय प्रमुख बस्नेतले बताए। यो वर्ष धानखेती हुने सबै खेतीयोग्य जग्गामा रोपाइँ गरिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा बढी उत्पादन हुने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

सबै बाँझो जग्गामा धानखेती हुने हो भने खेतीयोग्य क्षेत्रफलसहित उत्पादनमासमेत वृद्धि हुने बस्नेतको भनाइ छ । खेतीयोग्य सबै क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेकाले सिँचाइ सुविधा विस्तार भएमा उत्पादन पनि बढ्ने उनले बताए।

धान उत्पादनलाई बढाउन चैते धानखेतीमा जोड दिइएको बताउँदै योजनाअनुसार विस्तार गर्न नसकिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए। जिल्लामा गत वर्ष १२ हजार ९५५ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष समयमै वर्षात् हुनुका साथै धानखेतीमा किरा नदेखिएकाले गत वर्षभन्दा १० देखि १५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको उनले उल्लेख गरे ।

उत्पादन भएकोमध्ये केही चौरजहारी र आठबिसकोट नगरपालिकाबाट जिल्ला बाहिर बिक्री गरिँदै आइएको कृषि विकास कार्यालयले जनाएको छ । धानसहित खाद्यन्नमा रुकुमपश्चिम आत्मनिर्भर नरहेको कार्यालय प्रमुख बस्नेतले बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours