२१ साउन, काठमाडाैँ । आज (साउन २१, बुधबार) दिउँसो तथा राति पनि देशभर विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,
आज दिउँसो : कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाड भेगमा अधिकांश बदली रही बाँकी स्थानमा साधारणतया बदली (आकाशमा बादल) रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेशको पहाड क्षेत्रका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
मौसम महाशाखाले यहाँ ‘दिउँसो’ दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।


+ There are no comments
Add yours