१२ साउन, काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति भएका आठ जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ र १२ गतेको निर्णयअनुसार, दुई जना प्राविधिक प्रहरी नायव उपरीक्षक प्राविधिक प्रहरी उपरीक्षक, चार जना प्राविधिक प्रहरी निरीक्षक प्राविधिक प्रहरी नायव उपरीक्षक र दुई जना प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका छन् ।
पदोन्नति हुने अधिकृतहरूमा प्राविधिक प्रहरी उपरीक्षक सुदन कुमार बिष्ट र उदय जंग बहादुर राणा, प्राविधिक प्रहरी नायव उपरीक्षक धर्मानन्द भट्ट, सहकुल केसी, रितेश सिंह, उपेन्द्र कुमार ओझा तथा प्राविधिक प्रहरी निरीक्षक राजेन्द्र लामा र सुदन श्रेष्ठ रहेका छन् ।
महानिरीक्षक थापाले पदोन्नति हुने अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले पेशागत दक्षता र कार्यकुशलताको आधारमा भएको पदोन्नतिलाई उच्च नेतृत्व क्षमता, सकारात्मक सोच र सामूहिक भावनाका साथ सङ्गठनको हितमा उपयोग गर्न आग्रह गरे । साथै, शान्ति सुरक्षा, अपराध अनुसन्धान र नागरिकमैत्री प्रहरी सेवामा प्राविधिक सेवाको महत्वमाथि प्रकाश पार्दै प्रहरी सेवालाई प्रविधिमैत्री र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए ।
पदोन्नति हुने अधिकृतहरूको तर्फबाट प्राविधिक प्रहरी उपरीक्षक सुदन कुमार बिष्टले पूर्ण व्यावसायिक निष्ठा र इमानदारीका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।


+ There are no comments
Add yours