१२ साउन, काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गरिने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ ब्रान्ड लन्च हुने भएको छ । सोमबार काठमाडौँको सोल्टी होटलमा पत्रकार सम्मेलन गर्दै प्रदर्शनीको विशेषता, उद्देश्य र योजनाबारे विस्तृत जानकारी दिइएको हो ।
अटो एक्स्पो समितिका सदस्य गैरव सारडाले उद्घाटन मन्तव्य राख्दै पत्रकार, प्रायोजक, साझेदार तथा अन्य सहभागीलाई आभार प्रकट गरे ।
कार्यक्रममा अटो एक्स्पो समिति प्रमूख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने जानकारी गराउँदै त्यहाँका भौतिक पूर्वाधारमा गरिएको सुधारबारे प्रकाश पारे । विशेषगरी जल निकासी व्यवस्थापन र अपांगमैत्री पूर्वाधारको व्यवस्था उल्लेखनीय रहेको उनले बताए ।
मुरारकाका अनुसार प्रदर्शनीमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक गरिनेछन् । विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरूसम्मको समावेश रहने उनले जानकारी दिए । १५ वटा २ पाङ्ग्रे, १५ वटा ४ पाङ्ग्रे र ५ वटा व्यवसायिक सवारी साधनहरू पहिलोपटक सार्वजनिक गरिने तयारी गरिएको छ उनले बताए ।
मुख्य प्रायोजक एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गरे । उनीहरुले प्रविधिमैत्री तथा दिगो यातायात प्रणालीको विकासका लागि सँगै काम गर्ने प्रतिबद्धता पनि जनाए ।
नाइमाले एक्स्पो लक्षित विशेष अनलाइन प्रतियोगिता पनि घोषणा गरेको छ । प्रतियोगितामा श्रावण २१ सम्म एक्स्पोसम्बन्धी भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने १ उत्कृष्ट प्रतिस्पर्धीलाई १ लाख रुपैयाँ र श्रावण २१ देखि २५ सम्म अपलोड गरिएका उत्कृष्ट १० भिडियोका प्रतिस्पर्धीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रमको समापन नाइमाकी अध्यक्ष रितु शिंह वैद्यले गरिन् । उनले पत्रकार, साझेदार तथा सहभागीप्रति आभार प्रकट गर्दै नाइमा मोबिलिटी एक्स्पो २०२५ नेपालको इतिहासमै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हुने दाबी गरिन् । प्रदर्शनीको पाँचौ दिन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरूको सहभागितामा प्यानल डिस्कसनको आयोजना गरिने पनि उनले जानकारी दिइन् ।
‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । जहाँ ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू सहभागी हुनेछन् । टिकट खल्ती बाई आईएमई एपमार्फत उपलब्ध छ । प्रदर्शनीबाट संकलित टिकट बिक्री रकमको ५ प्रतिशत शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा मोबिलिटी विषयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति र फेलोशिप प्रदान गरिने नाइमाले जनाएको छ ।


+ There are no comments
Add yours