वैदेशिक रोजगारीका लागि यूएई प्रमुख गन्तव्य

११ साउन, काठमाडौं । नेपालबाट दैनिक हजारौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै यूएई जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक युएई बनेको हो ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ४४ हजार ८११ जना पूरुष र ९४ हजार ४५५ महिला गरी कुल ८ लाख ३९ हजार २६६ जना रोजगारीका लागि विदेशिएका छन् ।

वैदेशिक रोजगारीमा जाने कुल जनसंख्याको ३२.७१ प्रतिशत यूएई गएका छन् । गत आर्थिक वर्ष २ लाख ७४ हजार ५९० जना युवा श्रमका लागि युएई पुगेका छन् । यसमा ३२ हजार ८१४ जना महिला र २ लाख ४१ हजार ७७६ जना पुरुष छन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली महिलामध्ये अधिकांश श्रम स्वीकृति लिएर युएई जाने गरेको विभागको तथ्यांकले देखाएको छ । युएई एसियाली र अफ्रिकी नागरिकहरूका लागि बस्न र काम गर्न सुरक्षित रहेकाले पहिलो गन्तव्य बनेको विभागले जनाएको छ ।

बढ्दो सुविधा र विभिन्न कारणले नेपाली श्रमिकहरूका लागि युएई पहिलो रोजाइ बनेको छ । युएई एक समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्यले भरिपूर्ण मूलुक हो । त्यसैले युएई सबैभन्दा धेरै नेपाली जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी टिकाराम ढकाल बताउँछन् । नेपालीले चाहेअनुसारको काम युएईमा पाइने र त्यहाँका कम्पनीहरू श्रमिकले चाहेअनुसार भएका कारण यूएई प्रमुख गन्तव्य बनेको उनको भनाइ छ ।

अहिले खाडी मुलुकहरूमध्ये युएई वैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक रहेको छ । सुरक्षा, ड्राइभिङ, सेल्स, निर्माण, सरसफाइ आदि क्षेत्रमा नेपाली कामदारको यूएर्ईमा ठुलो माग हुने गरेको ढकालले बताए ।

यूएईपछि नेपाली युवाहरूको दोस्रो प्रमुख गन्तव्य साउदी अरब बनेको छ । साउदी अरबका लागि १ लाख ५२ हजार ५५७ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा १ लाख ५१ हजार ८७० जना पुरुष र ६८७ जना महिला रहेका छन् । गत वर्ष कतार जाने युवाहरु १ लाख ४० हजार ८७४ जना रहेका थिए ।

त्यस्तै, कुवेत जाने ५९ हजार ६५ र मलेसिया जाने ४९ हजार १८७ जना युवाहरुले श्रम स्वीकृती लिएका थिए । मलेसियाको भने हावापानी पनि नेपालसँग मिल्दोजुल्दो भएकाले नेपालीहरूको रोजाइमा परेको विभागले जनाएको छ ।

पछिल्लो समय युरोपमा पनि युवाहरूको आकर्षण बढ्दो छ । कता सुरक्षित तरिकाले राम्रो कमाई गर्न सकिन्छ, त्यतै युवाहरू आकर्षित भएका छन् ।

विभागबाट श्रम स्वीकृति लिएर रोमनिया क्रोएसिया, साइप्रस, लगायत थुप्रै युरोपेली मुलुकमा युवाहरूको आकर्षण बढ्दो छ ।
गत आर्थिक वर्ष २७ हजार ८७४ जना युवा रोमनिया गएका छन् जसमा २४ हजार ६५१ जना पुरुष र ३ हजार ३१३ जना महिला रहेका छन् भने १३ हजार ८३५ जना क्रोसिया र ९ हजार १८२ जना साइप्रस गएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours