हिम स्टार उर्जाको आइपीओ बाँडफाँड, प्रभावित र वैदेशिक श्रमिकलाई शेयर

२२ असार, काठमाडौं। हिम स्टार उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याई शेयरको बाँडफाँड सम्पन्न गरेको छ। एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा भएको उक्त आईपीओ बाँडफाँड कम्पनीले सार्वजनिक जानकारी गराएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको ५ प्रतिशत अर्थात् १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर बिक्रीका लागि जेठ ३० गतेदेखि निष्काशन खुला गरेको थियो। माग भन्दा बढी आवेदन असार १३ गतेमै प्राप्त भएपछि सो दिनमै निष्काशन बन्द गरिएको थियो।

आयोजना प्रभावित क्षेत्रका लागि कुल १ हजार २९ जना आवेदकबाट ३ लाख ९९ हजार ७४० कित्ता शेयर खरिदको रितपूर्वक आवेदन प्राप्त भएको थियो। बाँडफाँडमा १० देखि २३० कित्ता माग गर्ने ५५४ आवेदकलाई माग बमोजिम ७० हजार १०० कित्ता शेयर र २५० देखि ५ हजार १०० कित्ता माग गर्ने ४७५ आवेदकलाई प्रति आवेदक २४० कित्ताका दरले १ लाख १४ हजार कित्ता शेयर वितरण गरिएको छ। बाँकी २ हजार ४०० कित्ता शेयर २५० कित्ता भन्दा बढी माग गर्ने ४७५ जनामध्ये २४० जनालाई गोलाप्रथा विधिबाट थप १० कित्ता शेयरका दरले बाँडफाँड गरिएको हो।

यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको ९३ हजार २५० कित्ता शेयरका लागि असार ३० देखि असार १३ गतेसम्म निष्काशन खुला गरिएको थियो। यसमा ७१ हजार २१७ जना आवेदकबाट १३ लाख ८१ हजार १४० कित्ता शेयरका लागि आवेदन परेका थिए। तर विभिन्न कारणले १० हजार २५१ आवेदकका २ लाख ८३ हजार ९० कित्ता शेयरका आवेदन रद्द भएपछि बाँकी ६० हजार ९६६ जनाको १० लाख ९८ हजार ५० कित्ता शेयरका लागि आवेदनलाई बाँडफाँड गरिएको थियो।

यस क्रममा दोहोरो हितग्राही खाता र अन्य त्रुटिपूर्ण आवेदनहरू रद्द गरिएपछि ६० हजार ९३२ आवेदकलाई गोलाप्रथामार्फत प्रति आवेदक १० कित्ताका दरले ९ हजार ३२५ जनालाई ९३ हजार २५० कित्ता शेयर वितरण गरिएको कम्पनीले जानकारी गराएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours