असार १५ नजिकिएसँगै भक्तपुरका जुजु धौ व्यवसायीलाई भ्याइनभ्याइ

११ असार, भक्तपुर । असार १५ अर्थात दही चिउरा खाने दिन नजिकिएसँगै भक्तपुरको जुजु धौको माग ह्वात्तै बढेको छ । मल्लकालीन समयदेखि नै ‘दहीको राजा’ उपमा पाएको भक्तपुरको मौलिक उत्पादन जुजुधौको स्वाद र गुणस्तरका कारण यो सधैँ मानिसहरूको रोजाइमा पर्ने गरेको छ ।

‘अब असार १५ आउन लागेको भएर माग पनि बढेको छ । हामीले अहिले दिनको २० देखि २५ क्यान दुधबाट जुजु धौ बनाउने गरेका छौँ । हाम्रो यहाँको जुजु धौ ललितपुर र काठमाडौँमा आपूर्ति हुन्छ । त्यहाँबाट अन्यत्र पनि जान्छ,’ व्यासीमा जुजु धौ उद्योग सञ्चालन गरिरहेकी रिना सुवालले भनिन् ।उनका अनुसार एक क्यानमा ४० लिटर दुध हुन्छ र यो वर्षको असार १५ को लागि करिब १५० क्यान दुधबाट जुजु धौ बनाउने लक्ष्य उनको छ । ‘गर्मीमा भनेको हामीले १५ क्यान दुधबाट जुजु धौ बनाउँछौँ । यो बनाउन प्रयोग हुने दुध भनेको साँगाबाट सङ्कलन गरेर ल्याइने हो । गर्मीमा दुधको उत्पादन अलिक कम नै हुन्छ तर पनि हामीले त्यस्तो समस्या भोग्न परेको छैन । अहिले मेरो अलावा यहाँ जुजु धौ बनाउनलाई म बाहेक अरू ५ जना खटिरहेका छौँ । पसलहरूतिर पुर्‍याउनको लागि फेरि अरू नै पनि हुनुहुन्छ,’ जुजु धौ बनाउन दुध उमाल्दै गर्दा उनले भनिन् ।

जुजु धौको प्रमुख विशेषता चक्कुले टुक्राटुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषतायुक्त दही बनाउन उच्च गुणस्तरको गाई–भैँसीको शुद्ध दूधको आवश्यक पर्छ । जुजु धौ तयार गर्न अन्य दूधको तुलनामा चिल्लोपना बढी भएको दूध चाहिने उद्योगीहरू बताउँछन् ।

‘दुध, चिनी, सुकुमेलमा दहीको जोरन राखेर जुजु धौ बनाउने हो । यसमा डेरीमा जस्तो फ्याट काटेर वा पाउडर हाल्ने गरिएको हुन्न,’ सुवालले भनिन् ।

जुजु धौ बनाउन दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदै कराइमा उमाल्नुपर्दछ । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दूध राख्नुपर्दछ । उक्त दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको बीउ दही (जोर्डन) राख्नुपर्दछ र न्यानो हुने गरी छोपेर राख्नुपर्दछ । यसरी छोपेर राखेको पाँच घण्टामा जुजु धौ तयार हुन्छ ।

नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठुलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् । जुजु धौको माग बढेपछि नगरका टोलटोलमा जुजु धौ पसल खोलिएका छन् । जुजु धौ उत्पादनका हिसाबले मात्र होइन, यसको बिक्री वितरणका हिसाबले पनि यो व्यवसाय दिनदिनै फस्टाएको छ ।

भक्तपुरको जुजु धौ दही मात्र होइन, भक्तपुरको पहिचान पनि बनिसकेको छ । जुजु धौ महिमा नेपालमा मात्र होइन, विदेशमा समेत परिचित छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours