डेन्टल हाइजेनिस्टको सेवा प्रवेश पाँचौँ तहमा गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको माग

०८ असार, काठमाडौँ । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले डेन्टल हाइजेनिस्टको न्यूनतम शैक्षिक योग्यता प्रमाणपत्र तह कायम गरी सेवा प्रवेश पाँचौँ तहबाट गर्न सरकारसँग माग गरेको छ। एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले एक विज्ञप्ति जारी गर्दै हालको चौथो तहको व्यवस्थालाई संशोधन गरी पाँचौँ तहबाट सेवा प्रवेशको व्यवस्था गर्न जोड दिएका छन्।

विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शय्याका अस्पतालहरूमा डेन्टल हाइजेनिस्टको दरबन्दी यथावत राख्नुपर्ने र संघीय अस्पतालहरुमा दरबन्दी थप गर्नुपर्ने माग पनि गरिएको छ। माग सम्बोधन नभए साउन १ गतेदेखि अनशनसहितका चरणबद्ध विरोध कार्यक्रम गर्ने एसोसिएसनले चेतावनी दिएको छ।

यसअघि २०७८ मंसिर १६ मा स्वास्थ्य मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र पठाउँदै डेन्टल हाइजेनिस्टको सेवा प्रवेश पाँचौँ तहमा गर्ने व्यवस्थाका लागि अनुरोध गरेको थियो।

नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची–३ मा डेन्टल हाइजेनिस्टको सेवा प्रवेश चौथो तहमा हुने व्यवस्था भए पनि अनुसूची–६ मा न्यूनतम शैक्षिक योग्यता प्रमाणपत्र तह उल्लेख छ। चौथो तहका लागि स्पष्ट योग्यता नतोकिएको भन्दै मन्त्रालयले नियमावली संशोधनको क्रममा पाँचौँ तहमा विज्ञापन गर्ने व्यवस्थाका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय तहहरूलाई परिपत्र गरेको थियो।

एसोसिएसनले मन्त्रालयको सो निर्णय कार्यान्वयनमा तदारुकता देखाउन र डेन्टल हाइजेनिस्टको पेशागत हित संरक्षण गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours